महाशाखाका अनुसार सुन्दरपुरस्थित मौसम मापन केन्द्रमा पछिल्लो केही समयमा ९२.७ मिलिमिटर वर्षा मापन भएको छ। अझै वर्षा हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो।
कञ्चनपुर हुँदै बग्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्नसक्ने र आकस्मिक बाढीको जोखिम रहेकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यसैबीच, सुदूरपश्चिमका पहाडी क्षेत्र तथा भारतको उत्तराखण्डमा भएको भारी वर्षाका कारण महाकाली नदीको जलसतह सतर्कता तह पार गरेको छ। त्यसपछि भारतीय पक्षले बनबासास्थित शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ५५ हजार २८४ क्युसेक पुगेको छ।
महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ।