• Menu

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भयो : पर्यटनमन्त्री

नेपाल प्रफिट

२०८३ भदौ १७, बुधबार १६:५५

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भयो : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीका कारण पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा उनले पर्यटन व्यवसाय, पूर्वाधारमा भएको क्षति तथा भविष्यमा पर्न सक्ने आर्थिक असरलाई आधार बनाएर उक्त अनुमान गरिएको जानकारी दिए।

मन्त्री पौडेलका अनुसार बाढीपहिरोका कारण १४२ वटा होटल, ५७ वटा रेस्टुरेन्ट तथा पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधनमा क्षति पुगेको छ। त्यस क्षेत्रमा रहेका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामा समेत क्षति पुगेको उनले बताए।

लाङटाङ, गोसाइँकुण्ड, पार्वतीकुण्ड र नाथली पदमार्गमा क्षति पुगेकाले वैकल्पिक पदमार्गको खोजी गर्नुपर्ने अवस्था आएको मन्त्री पौडेलले बताए।

प्रभावित क्षेत्रलाई मन्त्रालयमार्फत ‘जलवायु सम्पदा’का रूपमा विकास गर्ने योजना अघि बढाइएको जानकारी दिँदै उनले त्यहाँ सङ्ग्रहालय, स्मारक, उद्यान वा अन्य संरचना निर्माण गर्ने विषयमा सरोकारवालासँग छलफल गरी निर्णय गरिने बताए ।

जलवायु परिवर्तनका कारण नेपालले ठूलो विपत्ति भोग्नुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले नगरेको गल्तीको असर नेपालीले भोग्नुपरेको बताए। जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई अन्तर्राष्ट्रिय समुदायले आवश्यक सहयोग र प्रविधि उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।

हिमाली क्षेत्रमा रहेका हिमताल तथा हिमनदीबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै विपद् आउनुअघि सूचना दिन सक्ने आधुनिक प्रविधि नेपालमा आवश्यक रहेको उनले बताए। यस्ता प्रविधि नेपालमा भित्र्याउन अन्तर्राष्ट्रिय समुदायसँग पहल गरिने उनको भनाइ छ ।

बाढीपहिरोका क्रममा उद्धार तथा राहतमा नेपाली हवाई कम्पनी र हेलिकप्टर व्यवसायीले गरेको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसलाई राष्ट्रप्रतिको योगदानका रूपमा लिइने बताए।

पोखरा, चितवन र काठमाडौंलगायत स्थानका होटल व्यवसायीले प्रभावित नागरिकलाई निःशुल्क बसोबास तथा खानाको व्यवस्था गरेकोमा उनले धन्यवाद दिए। रसुवा बाढीमा कति विदेशी पर्यटक बेपत्ता भए भन्ने विषय अन्तिम विवरण प्राप्त भएपछि मात्र यकिन हुने उनले बताए।

प्रभावित पर्यटक तथा उनीहरूका परिवारलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आवश्यक स्थानमा सहायता कक्ष स्थापना गर्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए। यस विषयमा विभिन्न मन्त्रालय तथा सम्बन्धित दूतावाससँग समन्वय भइरहेको पनि उनले बताए।

विपद्का कारण नेपालको पर्यटनबारे नकारात्मक सन्देश फैलिन नदिन अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी सूचना प्रवाह आवश्यक रहेको मन्त्री पौडेलको भनाइ छ। नेपाल सुरक्षित रहेको र पर्यटन उद्योग पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश विश्वभर पुर्‍याउनुपर्ने उनले बताए।

उनले भने, ‘प्राकृतिक विपत्ति संसारका जुनसुकै ठाउँमा हुन सक्छ। यसले नेपालको पर्यटन उद्योगलाई भत्काउन सक्दैन। हामी अझै उभिएका छौँ र पर्यटकलाई स्वागत गर्न तयार छौँ।’

मन्त्री पौडेलले पर्यटन क्षेत्रमा कार्यरत श्रमिकसँग सम्बन्धित कल्याणकारी कोष परिचालन गर्ने निर्णय गरिएको जानकारी दिँदै बाढीमा बेपत्ता व्यक्तिको यकिन नहुँदा बीमा दाबीमा आउन सक्ने जटिलताबारे अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताए ।

राष्ट्रिय विपत्तिको समयमा नेपाली समाज राजनीतिक विभाजनभन्दा माथि उठेर एकताबद्ध हुने गरेको उल्लेख गर्दै उनले यसपटक पनि उद्धार तथा राहतमा सामाजिक एकताको उदाहरण प्रस्तुत भएको बताए ।