• Menu

भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

नेपाल प्रफिट

२०८३ भदौ १७, बुधबार १६:३४

भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधिसभाले भोटेकोशी बाढीबाट उत्पन्न विपद्सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले विपद्मा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे।

सभामुख अर्यालले विपद्बाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेकाले नेपालका हिमनदी तथा हिमतालमा समेत परिवर्तन भइरहेको उल्लेख गरे। जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौतीका विषयमा नेपालले अन्तर्राष्ट्रियस्तरमा आफ्नो मुद्दा सशक्त रूपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए।

जलवायु परिवर्तनका कारण भएको क्षति तथा नोक्सानीसम्बन्धी अन्तर्राष्ट्रिय बहसमा नेपालले अझ स्पष्ट र बलियो रूपमा आफ्नो विषय उठाउनुपर्ने सभामुख अर्यालको भनाइ थियो।

उनले भने, ‘रसुवा विपद्ले हामीलाई महत्त्वपूर्ण पाठ सिकाएको छ। विपद्पछिको व्यवस्थापन मात्र होइन, पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्दछ। हिमताल र हिमनदीको नियमित अनुगमन प्राथमिकतामा राख्नुपर्दछ।’

सभामुख अर्यालले तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा राज्यका सम्पूर्ण संयन्त्र र स्रोतसाधन परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिन र विस्थापित नागरिकको पुनर्स्थापना गर्न आग्रह गरे।

भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकको आत्माको चीरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते दिउँसो १ बजे बस्नेछ।