• Menu

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ : संसद शाही

नेपाल प्रफिट

२०८३ भदौ १७, बुधबार १६:३२

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ : संसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै शाहीले विपद्को समयमा आरोप-प्रत्यारोपमा नलागी प्रभावित नागरिकको जीवन रक्षा र राहतमा केन्द्रित हुनुपर्ने बताए। आफ्नो पार्टीले सरकारलाई खोज, उद्धार तथा राहत कार्यमा साथ दिइरहेको उल्लेख गर्दै उनले सबै पक्षलाई एकजुट भएर काम गर्न आग्रह गरे।

उनले अन्तर्राष्ट्रिय निकायसँगै संघ, प्रदेश र स्थानीय सरकारलाई समेत विपद् प्रभावित नागरिकको साथमा उभिन आग्रह गरे ।

राज्यका स्रोतसाधन परिचालन गर्ने कार्यकारी अधिकार र दायित्व सरकारसँग रहेकाले विपद्को समयमा सरकार अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने शाहीको भनाइ थियो। संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई समेत प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उनले बताए ।

भोटेकोशी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा अझै जीवित व्यक्ति हुनसक्ने सम्भावना रहेको उल्लेख गर्दै शाहीले विज्ञ तथा घटनाबारे जानकारी भएका व्यक्तिको सहयोग लिएर खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारलाई सुझाव दिए।