काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चिलिमे जलविद्युत परियोजनामा कार्यरत कर्मचारीका परिवारजनसँग भेट गर्दै सम्पर्कविहीन नागरिकको खोजीमा राज्यका सबै संयन्त्र परिचालन गरिएको बताएका छन् ।
बुधबार मन्त्रालयमा परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न कठिन हुने बताए।
‘हरेक जीवन अमूल्य छ। एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ उनले भने।
मन्त्री श्रेष्ठले खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष जनशक्ति, प्रविधि तथा उपलब्ध स्रोतसाधन परिचालन गरिएको जानकारी दिए। खोजी कार्यमा प्रविधि, जनशक्ति र स्रोतको कुनै कमी हुन नदिएको स्पष्ट पार्दै उनले एक सातासम्म पनि अपेक्षित परिणाम प्राप्त हुन नसक्दा चिन्ता बढेको बताए।
कठिन परिस्थितिका बाबजुद सरकारले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले परिवारजनलाई धैर्य नगुमाउन आग्रह गरे।
‘हामी अन्तिम सम्भावनासम्म प्रयास गरिरहने छौँ। अझै आशा मार्ने बेला भएको छैन । प्रयास र प्रार्थना सँगसँगै गरौँ, आशा जीवित राखौँ,’ उनले भने ।
सरकार आफ्ना नागरिक तथा राष्ट्रसेवकका परिवारसँगै रहेको बताउँदै मन्त्री श्रेष्ठले कठिन घडीमा परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
भेटका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले सरकारका विभिन्न निकायबीच समन्वय र सहकार्य गर्दै खोजी तथा उद्धारको काम अघि बढिरहेको जानकारी दिइन् । नागरिकको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएकाले उपलब्ध सबै उपायको प्रयोग भइरहेको उनले बताइन् ।
चिलिमे जलविद्युत् कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हालसम्म भएका खोजी तथा उद्धारका प्रयासबारे परिवारजनलाई जानकारी गराए। उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन कम्पनीका तर्फबाट आवश्यक सबै प्रयास भइरहेको उनले बताए ।