• Menu

भोटेकोशी बाढी पीडितलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५१ लाख सहयोग

नेपाल प्रफिट

२०८३ भदौ १७, बुधबार ११:४२

भोटेकोशी बाढी पीडितलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५१ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

भदौ १६ गते मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष श्री सञ्जय आर्याल, सञ्चालक समिति सदस्यहरू वीरेन्द्र जंग पाण्डे र शमशेर पराजुली तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले अर्थमन्त्री माननीय स्वर्णिम वाग्ले समक्ष ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै कम्पनीले संकटको घडीमा प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धतासहित सहयोग गरेको जनाएको छ ।

भीषण बाढी तथा डुबानका कारण दर्जनौँ नागरिकले अकालमै ज्यान गुमाउनु परेको, कैयौँ बेपत्ता भएको तथा बस्ती र पूर्वाधारमा क्षति पुग्दा सयौँ परिवार विस्थापित हुनुपरेको कम्पनीले जनाएको छ । यस्तो कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति कम्पनीले हार्दिक समवेदना व्यक्त गरेको छ।

विपद्बाट प्रभावित नागरिकको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ-संस्थाबाट भइरहेका प्रयासप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार कोषमा आर्थिक सहयोग गरेको हो।

कम्पनीले स्थापनाकालदेखि नै मुलुकमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको जनाएको छ। ‘ढुक्क ढुक्क हैन, ढुक्क होऔँ’ भन्ने मूल भावनाअनुरूप प्रदान गरिएको उक्त सहयोगबाट बाढी प्रभावितको खोज, उद्धार, खाद्यान्न वितरण, स्वास्थ्य उपचार तथा पुनर्स्थापनाका कार्यमा थप टेवा पुग्ने कम्पनीको विश्वास छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ताको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति उच्च सम्मान एवं आभार व्यक्त गरेको छ ।