मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाइभर्ट’ गर्न थालिएको छ । नेपाल-चीनबीचको (रसुवागढी-केरुङ) नाका विनासकारी बाढीका कारण पूर्णरुपमा क्षति भएसँगै कोरलानामार्फत मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् ।
मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण संकलन गरिएको छ । सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्णरुपमा बन्द भएपछि कोरलानाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको संख्या वृद्धि भइरहेको जनाएको छ ।
कोरलानाकातर्फ जाँदै गर्नुभएका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने मालवस्तुहरु कोरलानाकातर्फ ‘डाइभर्ट’ भएकाले मालवस्तु ढुवानी गर्न कोरलातर्फ जाँदै गरेको जानकारी दिए ।
कोरला नाकालाई वैकल्पिक नाका रुपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलास्थित मुस्ताङ भन्सार कार्यालयले आव २०८२/८३ मा ६ अर्ब ९२ करोड राजस्व संकलन गरेको थियो । त्यसैगरी, चालु आवको पहिलो साउनमा २९ करोड राजस्व संकलन भएको थियो ।
मुस्ताङ भन्सार कार्यालयमा हाल १८ जनाको दरबन्दी रहे पनि १२ जनामात्रै कर्मचारी कार्यरत रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए ।