दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेको छ । आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ ।
उनी अहिले ८० वर्ष पुगिन् । तर, अहिलेसम्म छोराको कुनै अत्तोपत्तो छैन । २०५८ पुसदेखि सम्पर्कविहीन भएका उनका छोरा ओवीरामको अहिलेसम्म कुनै खबर नआए पनि उनले आशा मारेकी छैनन् ।
‘कसैले ढोका ढकढक गर्दा पनि छोरो आयो कि जस्तो लाग्छ, मुसा कराउँदा पनि छोराकै याद आउँछ,’ उनले भनिन्, ‘मेरो कपाल फुलेर सेताम्मे भइसक्यो तर अहिलेसम्म केही पत्तो लागेको छैन ।’
बुढेसकालको सहारा होला भनेर छोरालाई इन्जिनियर पढाएको डाँगीले बताइन् । तर, बुढेसकालमा झन् एक्लिएर बस्नुपर्दा उनलाई दुःख लागेको छ । ‘बुढेसकालमा छोराको कमाइ खाउँला, सुखले बसौँला भनेको थिएँ,’ उनले भक्कानिँदै भनिन्, ‘तर अहिले उसकै सम्झनामा बस्नुबाहेक केही भएन ।’
छोरा हराएको २७ वर्ष बितिसक्दा पनि कुनै पत्तो नलागेको भन्दै उनले राज्यसँग पनि असन्तुष्टि पोखिन् । ‘कुनै दिन छोरो घर फर्किएला भन्ने आशा अझै मरेको छैन,’ उनले भनिन् ।
यस्तै, तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारीकी निर्मला चौधरीको पीडा पनि उस्तै छ । उनका एक्ला छोरा विनोद २०६० कात्तिक २ देखि सम्पर्कविहीन छन् । ‘एक्लो छोरा हो, घर आउँलाआउँला भन्दाभन्दै २५ वर्ष बितिसक्यो,’ उनले भनिन्, ‘अझै पनि आशा मरेको छैन ।’ प्रतीक्षामा धेरै वर्ष बिते । निर्मला भन्छिन्, ‘आमा हुँ, कसरी भुल्न सक्छु र ?’
दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुर निवासी हरिराम चौधरी पनि २०५९ सालदेखि बेपत्ता छन् । तुलसीपुरमा मल लिन भनी आएका चौधरी बेपत्ता भए पनि परिवारले आशा मारेको छैन । ‘अझै पनि आउनुहुन्छ कि भन्ने लाग्छ,’ उनका भाइ सीताराम चौधरीले भने ।
यी केही उदाहरणमात्रै हुन् । अझै पनि धेरै आमाहरूले वर्षौँदेखि यही पीडा भोगिरहेका छन् । द्वन्द्वका समयमा बेपत्ता भएका नागरिकको परिवार झिनो आशामा पीडादायी दिनहरू बिताइरहेका छन् । लामो समयसम्म बेपत्ता भएका आफन्तका परिवारले न्याय पाउन नसकेको र झन् पीडामाथि पीडा थपिएको सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जाल लुम्बिनीका संयोजक सीता चौधरीले बताइन् ।
‘कि सास चाहियो, कि लास चाहियो भनेर आवाज उठाउँदै आए पनि त्यसले सार्थकता पाउन सकेको छैन,’ उनले भनिन्, ‘हामीले न्यायका लागि धेरै आवाज उठायौँ तर हाम्रा पीडा ज्यूँकात्यूँ छन्, हाम्रो सुनुवाइ कतैबाट भएको छैन ।’
सरकारले अझै पनि बेपत्ता व्यक्तिको अवस्था के छ भन्ने कुरा पत्ता लगाउन नसक्दा पीडित परिवारमा झन् पीडा थपिएको उनको बताइन् । पटक-पटक बेपत्ता नागरिक खोजीका लागि सामान्य कार्यक्रम भए पनि वास्तविक अवस्था भने पत्ता लाग्न नसकेको भन्दै उनले दुःखेसो पोखिन् ।
सोह्रौँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा शनिबार दाङको तुलसीपुरमा आयोजित अन्तर्क्रियाका सहभागीले आ–आफ्ना दुःख र पीडा सुनाएका हुन् । हरेक वर्ष एक दिन बेपत्ता नागरिकको बारेमा छलफल हुने भए पनि हालसम्म अवस्था पत्ता नलाग्दा पीडा जहाँको तहीँ रहेको उनीहरुको गुनासो छ । राज्यले तत्काल बेपत्ता नागरिकका बारेमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।