• Menu

रसुवा बाढीको पाँचौँ दिन : ७३४ को मृत्यु, २,४९८ बेपत्ता, ८ हजार १८६ को उद्धार

नेपाल प्रफिट

२०८३ भदौ १४, आइतबार १७:३६

रसुवा बाढीको पाँचौँ दिन : ७३४ को मृत्यु, २,४९८ बेपत्ता, ८ हजार १८६ को उद्धार

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहितका जिल्लामा भएको मानवीय क्षति भयावह देखिएको छ । बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म ७३४ जनाको शव फेला परेको छ भने २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन् ।

गृह मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २६१ भन्दा बढी विदेशी नागरिक छन् । अझै ४०० भन्दा बढी विदेशी नागरिक सम्पर्कविहीन रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि सरकारले उपलब्ध स्रोतसाधन परिचालन गरेको छ । हाल करिब १९ हजार सुरक्षाकर्मी र १६ वटा हेलिकप्टर परिचालन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सुरुङभित्र फसेकाको उद्धार सबैभन्दा ठूलो चुनौती

बाढीका कारण त्रिशूली र भोटेकोशी नदी आसपासका विभिन्न जलविद्युत् आयोजनाका संरचना तथा सुरुङमा ठूलो क्षति पुगेपछि त्यहाँ कार्यरत कामदारको उद्धार सबैभन्दा कठिन बनेको छ ।

विशेषगरी त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिसम्म पुग्न नेपाली सेनाले ड्रिलिङ गरेर पहुँच बनाउने प्रयास गरिरहेको छ । अहिले उद्धार टोलीले बनाएको प्वालमार्फत सुरुङभित्र अक्सिजन र क्यामेरा पठाइएको छ । सुरुङभित्र थुप्रिएको लेदो तथा अवरोध हटाएर उद्धारको बाटो खोल्ने प्रयास जारी छ ।

यसअघि विभिन्न जलविद्युत् आयोजना तथा कार्यस्थलबाट सयौँ व्यक्तिको उद्धार भइसकेको छ । तर, सरकारले हालसम्म सुरुङभित्र अझै कति व्यक्ति जीवित वा सम्पर्कविहीन अवस्थामा छन् भन्ने यकिन गर्न सकेको छैन ।

उद्धार अभियानमा नेपालले अन्तर्राष्ट्रिय प्राविधिक सहयोगसमेत लिएको छ । भारतबाट ११ जना र चीनबाट ९ जना सुरुङ उद्धार विशेषज्ञ नेपाल आएका छन् । दक्षिण कोरियाबाट पनि प्राविधिक सहयोग लिइएको छ ।

सरकारले विदेशी सहयोग अस्वीकार गरेको भन्ने समाचारको खण्डन गर्दै विशेष उद्देश्यका लागि आवश्यक विशेषज्ञ तथा उपकरणको सहयोग लिइरहेको स्पष्ट पारेको छ ।

१९ हजार सुरक्षाकर्मी मैदानमा

बाढीपछि उद्धार, खोजी, शव व्यवस्थापन, राहत वितरण र प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न करिब १९ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली प्रभावित क्षेत्रका विभिन्न स्थानमा परिचालित छन् । हेलिकप्टरमार्फत दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा उद्धारलाई प्राथमिकता दिइएको छ ।

प्रतिकूल मौसम, भत्किएका सडक तथा पुल, नदीको तीव्र बहाव, पहिरो र बाक्लो लेदोका कारण कतिपय स्थानमा स्थलमार्गबाट उद्धार गर्न कठिन भएको छ । उद्धार कार्यमा हेलिकप्टरको प्रयोग बढाइएको छ । आइतबार बिहानमात्रै नेपाली सेनाका हेलिकप्टरबाट टिमुरे, धुन्चे र हाकुबेँसी क्षेत्रबाट थप १८३ जनाको उद्धार गरिएको थियो ।

राहत वितरण सुरु तर दुर्गम क्षेत्रमा चुनौती

सरकारले प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, औषधि, अस्थायी आश्रय र अन्य अत्यावश्यक सामग्री पुर्‍याइरहेको जनाएको छ । सडक र पुल बगेर यातायात सम्पर्क टुटेका स्थानमा हेलिकप्टरबाट राहत सामग्री पुर्‍याउन थालिएको छ । प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने काम भइरहेको छ ।

तर, बाढीले सडक, पुल, विद्युत् संरचना, सञ्चार प्रणाली र जलविद्युत् आयोजनासमेत क्षतिग्रस्त बनाएकाले राहत वितरण सहज छैन । सरकारले प्रभावित क्षेत्रमा आवश्यकताको विस्तृत मूल्यांकनसमेत सुरु गरेको जनाएको छ ।

शव पहिचानमा डीएनए परीक्षण

बाढीमा ज्यान गुमाएका कतिपय व्यक्तिको शव पहिचान गर्न कठिन भएपछि सरकारले डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भारतबाट १८ जना फरेन्सिक विशेषज्ञ नेपाल आएका छन् । उनीहरूले डीएनए विश्लेषण तथा शव पहिचानमा सहयोग गरिरहेका छन् ।

लामो समय पानी तथा लेदोमा परेका, क्षतविक्षत वा पहिचान गर्न नसकिने शवलाई निर्धारित प्रोटोकलअनुसार अस्थायी रूपमा व्यवस्थापन गरिने भएको छ । शव व्यवस्थापनका लागि आवश्यक एयरटाइट ब्यागसमेत विदेशबाट प्राप्त भइरहेको सरकारले जनाएको छ ।

भारतको सहयोग सुरुङ उद्धारदेखि डीएनएसम्म

भारतले बाढीपछिको उद्धार तथा राहतमा नेपाललाई सामग्री र प्राविधिक सहयोग उपलब्ध गराएको छ । विशेषगरी ११ सदस्यीय सुरुङ उद्धार विशेषज्ञ टोली नेपालमा परिचालित छ । त्यस्तै १८ सदस्यीय फरेन्सिक तथा डीएनए विशेषज्ञ टोलीले शव पहिचानमा सहयोग गरिरहेको छ ।

भारतबाट शव व्यवस्थापनका लागि एयरटाइट ब्यागलगायत सामग्री पनि प्राप्त भएको सरकारले जनाएको छ । भारतको सहयोग अहिले खाद्यान्न तथा राहत सामग्रीमा मात्र सीमित नभई सुरुङ उद्धार, शव पहिचान र फरेन्सिक सहयोगसम्म विस्तार भएको छ ।

चीनबाट राहत सामग्री र उद्धार विशेषज्ञ

उत्तरी छिमेकी चीनले पनि बाढी प्रभावितका लागि ठूलो परिमाणमा राहत सामग्री पठाएको छ । चीनबाट राहत सामग्रीसहित सुरुङ उद्धार विशेषज्ञ टोली नेपाल आएको छ । नेपाली सेनासँग समन्वय गरेर चिनियाँ विशेषज्ञहरू सुरुङमा फसेकाहरूको उद्धारमा प्राविधिक सहयोग गरिरहेका छन् ।

सरकारका अनुसार चीनबाट ९ जना सुरुङ उद्धार विशेषज्ञ परिचालित छन् । चीनबाट प्राप्त सहयोगमा आपत्कालीन राहत सामग्री, अस्थायी आश्रय तथा उद्धारमा प्रयोग हुने सामग्री समावेश छन् ।

९० हजारभन्दा बढी प्रभावित, पुनर्निर्माणमा ठूलो चुनौती

बाढीले घर, सडक, पुल, सरकारी कार्यालय, सीमा क्षेत्रका संरचना तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ । सरकारले अहिले क्षतिको विस्तृत मूल्यांकनका लागि पोस्ट डिजास्टर निड्स एसेसमेन्ट प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

प्रारम्भिक अवस्थाले नै पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने संकेत गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार क्षतिको पूर्ण विवरण आएपछि पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे अन्तर्राष्ट्रिय समुदायसँग थप आग्रह गरिनेछ ।

उद्धार अभियान जारी

भोटेकोशी बाढीको पाँचौँ दिनसम्म हजारौँ मानिसको उद्धार भए पनि २ हजार ४९८ जना अझै सम्पर्कविहीन हुनु उद्धार अभियानका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । विशेषगरी जलविद्युत् आयोजनाका सुरुङ, नदी किनार, पहिरोले पुरिएका क्षेत्र र दुर्गम बस्तीमा खोजीलाई तीव्र बनाइएको छ ।

सरकारले वर्षायाम अझै बाँकी रहेकाले नदी आसपासका क्षेत्रमा थप बाढीको जोखिमलाई समेत निगरानीमा राखेको जनाएको छ । गृह मन्त्रालयले अहिलेको प्राथमिकता स्पष्ट गर्दै ‘पहिले जीवन बचाउने, बेपत्ताको खोजी गर्ने, जीवितलाई उद्धार गर्ने र प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने’ नीति लिएको जनाएको छ ।

बाढीबाट भएको क्षतिको पूर्ण तस्बिर अझै बाहिर आउन बाँकी छ । तर, अहिलेसम्मको तथ्यांकले भोटेकोशी विपत्तिलाई पछिल्ला वर्षमा नेपालले भोगेको सबैभन्दा ठूलो मानवीय तथा पूर्वाधार संकटमध्ये एकका रूपमा देखाएको छ ।

यसैबीच, आइतबार बिहान फेरि त्रिशूलीमा बाढी आएको थियो । बाढीले नदी किनाराका केही घर बगाएको छ । आइतबारको बाढीका कारण मानवीय क्षति भने हुन पाएन ।