• Menu

नाडा अटो सोलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा भव्य बनाउने तयारी

नेपाल प्रफिट

२०८३ भदौ ३, बुधबार १५:५४

नाडा अटो सोलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा भव्य बनाउने तयारी

काठमाडौं । नेपालकै चर्चित अटोमोबाइल प्रदर्शनी नाडा अटो सो २०२६ को तयारी तीव्र पारिएको छ । नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको यस वर्षको अटो सोलाई ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा भव्य बनाउने तयारी गरिएको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको हो ।

काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ देखि १४ सम्म चल्ने १८औँ संस्करणको प्रदर्शनीमा साना–ठूला गरी २ सयभन्दा बढी स्टल रहनेछन् । आयोजकका अनुसार २३ वटा ब्रान्डका प्यासेन्जर कार, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड, १० वटा वित्तीय तथा बिमा सेवाप्रदायक र ७० वटा अटोमोबाइल पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका स्टल रहनेछन् ।

एच.पी. लुब्रिकेन्ट्स शीर्ष प्रायोजक रहेको अटो सोमा नेपालमा तीव्र गतिमा विस्तार भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि, सवारीसाधन, उत्पादन र सेवालाई एउटै छानामुनि प्रस्तुत अध्यक्ष सुरेन्द्र उप्रेतीले जानकारी दिए ।

यसपटकको अटो सोमा ‘मेड इन नेपाल/मेड फर नेपाल’ पेभिलियनलाई समेत विशेष प्राथमिकता दिइएको छ । नेपालमै एसेम्बल हुने सवारीसाधनदेखि लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टसम्मका स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले छुट्टै पेभिलियन तयार गरिनेछ ।

रोबोटदेखि नयाँ सवारीसाधनसम्म मुख्य आकर्षण

नाडा अटो सो २०२६ को प्रमुख आकर्षणका रूपमा G1 Humanoid Robot र Go2 Quadruped Robot लाई प्रस्तुत गर्ने तयारी गरिएको छ । भविष्यमा यातायात तथा मोबिलिटी क्षेत्रमा प्रयोग हुन सक्ने प्रविधिको प्रत्यक्ष अनुभव अवलोकनकर्ताले लिन सक्ने नाडाले जनाएको छ ।

त्यस्तै, विभिन्न ब्रान्डका नयाँ मोडलका सवारीसाधन सार्वजनिक तथा लन्च गरिने तयारी छ । स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास र कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियम तथा छलफलसमेत आयोजना हुनेछन् ।

छुट्टाछुट्टै जोन, व्यवस्थित पार्किङ र सुरक्षा

अवलोकनकर्तालाई सहज बनाउन प्रदर्शनीस्थलमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै जोन निर्माण गरिनेछ ।

अटो सोको टिकट खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिने व्यवस्था गरिएको छ । निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशत क्यासब्याकको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

पार्किङ व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ । नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अन्डरग्राउन्ड पार्किङका साथै नेसनल ट्रेडिङ परिसरमा समेत पार्किङको व्यवस्था गरिनेछ । प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउने तयारीसमेत गरिएको छ ।

६ दिनमा २ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य

नाडाले यस वर्षको अटो सोमा करिब २ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको छ । अटोमोबाइल व्यवसायी, सवारीसाधनका ग्राहक, उद्योगी–व्यवसायी, प्राविधिक, सञ्चारकर्मी तथा आम सर्वसाधारणका लागि अटो सो नयाँ उत्पादन र प्रविधिबारे जानकारी लिन महत्वपूर्ण मञ्च बन्ने आयोजकको विश्वास छ ।

नाडाका अनुसार प्रदर्शनी केवल सवारीसाधन बिक्री तथा प्रदर्शनमा सीमित नभई नेपालको समग्र मोबिलिटी इकोसिस्टम, प्रविधि, उत्पादन र भविष्यको यातायात प्रणाली बुझ्ने अवसरका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।