
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै लघु जलविद्युत, सौर्य मिनीग्रिड र घरेलु सौर्य प्रणाली विस्तार गरेर कर्णालीलाई विद्युत् पहुँचयुक्त प्रदेश बनाउने काम भइरहेको बताएका छन् ।
राष्ट्रियसभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रमार्फत कर्णालीमा हालसम्म २०९ वटा लघु तथा साना जलविद्युत आयोजना निर्माण भई ६ हजार ७१९ किलोवाट विद्युत उत्पादन भइरहेको जानकारी दिए। यसबाट ६४ हजार २३१ घरधुरी लाभान्वित भएका छन्।
त्यस्तै, २३ वटा सौर्य मिनीग्रिडबाट १ हजार ७०९ किलोवाट विद्युत उत्पादन भइरहेको र ५ हजार ३९१ घरधुरीमा विद्युत पहुँच पुगेको उनले बताए।
कर्णालीका ७१८ वडामध्ये ८२ वडा पूर्ण रूपमा र ४७२ वडा आंशिक रूपमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युतीकरण भएको उनले जानकारी दिए। अझै १६४ वडामा राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी रहेको भन्दै उनले यसलाई नागरिकको आधारभूत सेवा र सामाजिक न्यायसँग जोडिएको विषयका रूपमा सरकारले लिएको बताए ।
मन्त्री श्रेष्ठका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र सम्मिलित कार्यदलले २०७९ सालमा कर्णालीका विद्युतीकरण हुन बाँकी १ लाख १ हजार १८७ घरधुरी तथा भौगोलिक क्षेत्र पहिचान गरी ‘लास्ट माइल विद्युतीकरण योजना’ तयार गरेको थियो। उक्त योजना कार्यान्वयनमा आइसकेको उनले बताए ।
कर्णालीमा प्रसारण लाइन र विद्युत केन्द्र निर्माणतर्फ पनि काम भइरहेको उल्लेख गर्दै उनले १३२ केभी सुर्खेत विद्युत् केन्द्र सञ्चालनमा आइसकेको जानकारी दिए। ३२ किलोमिटर लामो दोहोरो सर्किट १३२ केभी सुर्खेत-दैलेख प्रसारण लाइन निर्माणाधीन रहेको र आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।
वैकल्पिक ऊर्जातर्फ पनि काम भइरहेको बताउँदै मन्त्री श्रेष्ठले एसियाली विकास बैंकको ऋण सहयोगमा ८ मेगावाट क्षमताको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने सौर्य विद्युत आयोजना अघि बढाइएको जानकारी दिए। त्यसका लागि दैलेख, रुकुम पश्चिम र जुम्लामा जग्गा छनोट भइसकेको उनले बताए ।
दुर्गम वडामा घरेलु सौर्य प्रणाली, साना जलविद्युत आयोजना तथा सौर्य मिनीग्रिड निर्माणका लागि बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।
मन्त्री श्रेष्ठले अब कर्णालीलाई विद्युत पहुँच पुगेको प्रदेश मात्र नभई भरपर्दो, गुणस्तरीय र दिगो विद्युत सेवा पुगेको प्रदेश बनाउने लक्ष्य रहेको बताए। त्यसका लागि कर्णाली प्रदेश विद्युतीकरण आयोजनालाई दुई चरणमा अघि बढाउने योजना रहेको उनले जानकारी दिए।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal