• Menu

करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै, १६ दिनमै दर्ता भए साढे ३ लाखभन्दा बढी बिल

नेपाल प्रफिट

२०८३ भदौ १, सोमबार १५:३३

करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै, १६ दिनमै दर्ता भए साढे ३ लाखभन्दा बढी बिल

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार सोमबार घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार विजेता घोषणा गर्ने भएको हो।

साउन १६ देखि ३१ गतेसम्म नियमअनुसार कारोबारमा संलग्न भएका उपभोक्ता आज घोषणा हुने पुरस्कारका लागि सहभागी भएका छन्।

आन्तरिक राजस्व विभागका अनुसार कार्यक्रम सुरु भएको पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ। साउन १६ देखि ३१ गतेसम्म मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि दर्ता भएका छन्। साउनको पहिलो १५ दिनमा भने बिल दर्ता गर्ने उपभोक्ताको संख्या ७ हजार ७७ मात्रै थियो।

यसैगरी, विद्युतीय संकेतमार्फत भएको कारोबारबाट स्वतः पुरस्कार योजनामा सहभागी हुने उपभोक्ताको कारोबार संख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।

विभागका अनुसार पछिल्लो १६ दिनको अवधिमा पुरस्कार योजनामा सहभागी कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यही सङ्ख्यामध्येबाट आज १६ जना विजेता छनोट गरिनेछ।

साउन १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि दैनिक एक जनाका दरले १६ जना विजेता छनोट हुनेछन्। प्रत्येक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्। कर कटाएपछि विजेताले खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, सहभागीमध्येबाट एक जनालाई बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ प्रदान गरिनेछ। बम्पर पुरस्कारमा २५ प्रतिशत कर लाग्ने व्यवस्था रहेको विभागले जनाएको छ।

आजको कार्यक्रममा साउन महिनाको पहिलो पाक्षिक अवधिमा पुरस्कार जितेका विजेतालाई नगद पुरस्कारसमेत प्रदान गरिने कार्यक्रम रहेको छ।