• Menu

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री पोखरेल र सञ्चारमाध्यमका सम्पादकहरूबीच छलफल

नेपाल प्रफिट

२०८३ साउन २९, शुक्रबार १७:११

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री पोखरेल र सञ्चारमाध्यमका सम्पादकहरूबीच छलफल

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग छलफल गरेका छन् ।

शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा सरकारी सूचना प्रवाहलाई पारदर्शी, सहज र प्रभावकारी बनाउँदै सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध थप सुमधुर बनाउनुपर्नेमा जोड दिइएको छ ।

छलफलमा सहभागी सम्पादक तथा प्रतिनिधिहरूले सरकारी सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन सरकार र सञ्चारमाध्यमबीचको सम्बन्धलाई फराकिलो बनाउनुपर्ने बताए । सरकार र सञ्चारमाध्यमबीचको प्रभावकारी सम्बन्धले लोकतन्त्र र सुशासन प्रवदर्धनमा योगदान पुर्‍याउने उनीहरूको भनाइ थियो ।

उनीहरूले अन्तरमन्त्रालयका गतिविधि, सरकारी निर्णय तथा सूचनामा सञ्चारमाध्यमको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

छलफलमा विद्यालय शिक्षा र उच्च शिक्षालाई व्यवहारिक, वैज्ञानिक तथा जनमुखी बनाउन दीर्घकालीन सुधार आवश्यक रहेको विषयसमेत उठाइएको थियो । शिक्षा प्रणाली सुधारका लागि विद्यालय शिक्षाको नीतिमा आवश्यक नीतिगत परिवर्तन गर्नुपर्ने सम्पादक तथा प्रतिनिधिहरूले सुझाव दिए ।

मन्त्री पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक व्यवस्थापकीय काम गरिरहेको बताए । सरकार लोकतान्त्रिक प्रक्रियाबाट आएको उल्लेख गर्दै उनले सरकारका सबै कामकारबाही लोकतान्त्रिक मूल्य-मान्यताअनुसार हुने स्पष्ट पारे ।

जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई प्राथमिकता दिइएको उनले बताए । विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रमा समयसापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिए ।

शिक्षामन्त्रीका सल्लाहकार सरोज गौतमले सहजीकरण गर्नुभएको छलफलमा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

छलफलमा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारी, राजधानी दैनिकका सम्पादक डिल्ली आचार्य, नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल, नेपाल लाइभका प्रधान सम्पादक रामप्रसाद दाहाल, बाह्रखरीका कार्यकारी सम्पादक बलराम पाण्डे, टेकपानाका सम्पादक गोपाल साउद, सिधाकुराका सम्पादक अक्षर काका, कारोबार दैनिकका समाचार प्रमुख सरस्वती ढकाल र स्वास्थ्यखबरपत्रिकाका सम्पादक प्रवीण ढकाल सहभागी थिए ।