
कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टसँगै एमालेका चार मन्त्रीले शुक्रबार शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँसमक्ष दिउँसो उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ लिनेमा सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री, चक्रबहादुर मल्ल आर्थिक मामिलामन्त्री, दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्री छन् ।
यसअघि मुख्यमन्त्री खगराज भट्टले प्रदेश प्रमुख मियाँसमक्ष शपथ लिएका थिए । भट्ट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशसभा संसदीय दलका नेता छन् ।
नेकपा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार दुई दलको गठबन्धनबाट भट्ट मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal