
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन् । उनको संयोजकत्वमा शुक्रबारदेखि सुरु भएको कांग्रेस संस्थापनइतर पक्षको भेलाको उद्घाटन समारोहमा डा. कोइरालाले पार्टीलाई एकजुट बनाउने आफ्नो कर्तव्य भएको उल्लेख गरे ।
‘कांग्रेस एकढिक्का भएका खण्डमा कसैले पनि पराजय गर्न सक्दैन् । यही नै भेलाको मुख्य उद्देश्य हो,’ उनले भने । उनले बिहीबार मात्र पाँच महिनापछि स्वस्थ्योपचार गरी स्वदेश फर्किएका पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिले भेला सफल भएको बताए ।
डा. कोइरालाले पूर्वप्रधानमन्त्री देउवासँग भारतको बनारसमा पहिलो पटक भएको भेट र सँगै सिनेमा हेरेको प्रसङ्ग स्मरण गरे । उनले निवर्तमान सभापति देउवा नै आफूहरूको नेता भएको र उनकै नेतृत्वमा कांग्रेस अघि बढ्ने धारणा व्यक्त गरे । कांग्रेसको संस्थापनइतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको हो ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा भएको भेला सयौँ नेता कार्यकर्ताको उपस्थिति छ । प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार आजदेखि सुरु भएको भेलाको शनिबार र आइतबार बन्दसत्र चल्नेछ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal