
काठमाडौं । क्रिएसन नेपालले सञ्चालन गरेको ‘सफा गरौँ’ अभियानअन्तर्गत साउन महिनाका सोमबार हुँदै आएको विशेष सरसफाइ कार्यक्रम पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ । डोको-कोला फाउन्डेसनको सहयोग तथा पशुपति क्षेत्र विकास कोषको सहकार्यमा आयोजित अभियानमा ५०० भन्दा बढी स्वयंसेवक, विद्यार्थी, सरसफाइकर्मी तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधि सहभागी भएका थिए ।
वर्षकै व्यस्त धार्मिक यात्राको अवधिमा सञ्चालन गरिएको अभियानले साउन महिनामा पशुपतिनाथ क्षेत्रमा बढ्ने भक्तजनको चापलाई ध्यानमा राख्दै फोहोर व्यवस्थापन तथा सरसफाइमा सहयोग पुर्याएको आयोजकले जनाएको छ । साउनभर लाखौँ भक्तजन तथा दर्शनार्थी पशुपतिनाथ पुग्ने भएकाले स्थानीय कर्मचारी तथा स्वयंसेवकलाई फोहोर व्यवस्थापन र मन्दिर परिसरको सरसफाइमा सक्रिय बनाउन अभियान सञ्चालन गरिएको थियो ।
अभियानमार्फत भक्तजन तथा आगन्तुकका लागि स्वच्छ र सफा वातावरण निर्माण गर्नुका साथै फोहोरको उचित व्यवस्थापन र जथाभावी फोहोर नफाल्ने बानीको विकासमा जनचेतना फैलाइएको थियो ।
समापन कार्यक्रममा दिगोपन तथा वातावरणीय, सामाजिक र सुशासनसम्बन्धी मूल्य अभिवृद्धि विभागका निर्देशक आदित्य पाण्डा, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कोनाले, क्रिएसन नेपालकी अध्यक्ष अरुणा काकी, क्रिएसन नेपालका संस्थापक आनन्द मिश्र, पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
डोको-कोला फाउन्डेसनका अध्यक्ष कालोरास पागोगाउले फोहोर व्यवस्थापनमा सुधार ल्याउन र जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्न सहकार्य महत्वपूर्ण रहेको बताए । उनले ‘सफा गरौँ’ अभियानमार्फत स्थानीय समुदायलाई फोहोरको उचित व्यवस्थापनका लागि सक्रिय र सक्षम बनाउन सहयोग गर्ने उद्देश्य रहेको उल्लेख गरे ।
साउन महिनाभर प्रत्येक सोमबार सञ्चालन भएको कार्यक्रममा स्वयंसेवकले हरेक साता दुई दर्जनभन्दा बढी सरसफाइकर्मीसँग मिलेर फोहोर संकलन तथा वर्गीकरण गरेका थिए । साथै, फोहोरको उचित व्यवस्थापन, सरसफाइको महत्व तथा नेपालको धार्मिक र सांस्कृतिक सम्पदा संरक्षणमा सामूहिक प्रयासको आवश्यकताबारे जनचेतना फैलाइएको थियो ।
कार्यक्रममा पुनःप्रयोग गरिएको प्लास्टिकका बोतलबाट तयार पारिएका बस्ने बेन्चसमेत उद्घाटन गरिएको थियो । यसले प्लास्टिकजन्य फोहोरलाई पुनःप्रयोग गरी सार्वजनिक उपयोगका सामग्रीमा रूपान्तरण गर्न सकिने सन्देश दिएको छ ।
अभियानमा योगदान पुर्याउने स्वयंसेवक, सरसफाइकर्मी तथा साझेदार संस्थालाई सम्मान गरिएको थियो । निरन्तर सहयोगका लागि पशुपति क्षेत्र विकास कोषले डोको-कोला फाउन्डेसनलाई प्रशंसापत्र प्रदान गरेको थियो । चार सातासम्म अभियानमा सक्रिय रूपमा सहभागी भएका स्वयंसेवक तथा सरसफाइकर्मीलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो ।
साउन महिनाको अभियानबाट प्राप्त उत्साहलाई निरन्तरता दिँदै ‘सफा गरौँ’ अभियानले आगामी सेप्टेम्बर १४, २०२६ मा पर्ने हरितालिका तीजसम्म विभिन्न सरसफाइ तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने जनाएको छ । अभियानले समुदायको सहभागिता बढाउँदै फोहोरको उचित व्यवस्थापन, दिगो अभ्यासको प्रवर्धन तथा नेपालको सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणमा सहयोग गर्ने लक्ष्य राखेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal