• Menu

सिँचाइका राष्ट्रिय गौरवका आयोजना नियन्त्रण र अनुगमनमा कडाइ गरिँदै

नेपाल प्रफिट

२०८३ साउन २७, बुधबार १७:४६

सिँचाइका राष्ट्रिय गौरवका आयोजना नियन्त्रण र अनुगमनमा कडाइ गरिँदै

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागले राष्ट्रिय गौरवका आयोजना तथा विभागअन्तर्गत सञ्चालित अन्य आयोजनाको भौतिक र आर्थिक प्रगतिको प्रभावकारी अनुगमन गर्न विशेष संयन्त्र निर्माण गरेको छ ।

लामो समयदेखि सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाले लक्षित प्रगति हासिल गर्न नसकेको, निर्धारित समयावधि नाघेको तथा निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान हुन नसकेको अवस्थालाई सम्बोधन गर्न विभागले यस्तो संयन्त्र बनाएको हो ।

संयन्त्रमार्फत आयोजनाको स्थलगत प्रगति, भौतिक तथा आर्थिक अवस्था, निर्माणको समयतालिका, प्रमुख समस्या र समाधानका लागि चालिएका कदमबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विभागबाट नियमित अनुगमन तथा समन्वय गरिनेछ ।

समस्याको पहिचान गरी जिम्मेवार निकाय तोक्ने, समाधानको समयसीमा निर्धारण गर्ने र त्यसको निरन्तर अनुगमन गर्ने प्रणालीसमेत विकास गरिने विभागले जनाएको छ ।

यसै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको प्रगति तथा आगामी कार्ययोजना तयार गर्न आगामी साता सबै आयोजना प्रमुखसँग बैठक आह्वान गरेका छन् ।

प्रारम्भिक चरणमा विभागअन्तर्गतका महाकाली तेस्रो सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना तथा सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई प्राथमिकतामा राखेर अनुगमन गर्ने योजना रहेको छ ।

विभागका अनुसार उक्त संयन्त्र आयोजनाको प्रगति विवरण संकलन गर्ने माध्यममा मात्र सीमित रहने छैन । यसले समस्या पहिचान, तत्काल गर्नुपर्ने कार्य, जिम्मेवारी निर्धारण र परिणामको निरन्तर अनुगमन गर्ने नतिजामुखी प्रणालीका रूपमा काम गर्नेछ ।

यसबाट लामो समयदेखि अघि बढिरहेका राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समय, लागत र गुणस्तरभित्र सम्पन्न गर्न थप जवाफदेहिता सिर्जना हुने अपेक्षा गरिएको छ ।

आयोजनाअन्तर्गतका मुख्य संरचनाको निर्माणस्थल तथा आयोजना कार्यालयबाट प्राप्त विवरणलाई विभागको अनुगमन प्रणालीमा प्रत्यक्ष समेटी नियमित समीक्षा गर्ने तयारी गरिएको विभागले जनाएको छ ।

सम्बन्धित समाचार