
बाँके । भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगन्जमा स्थानीय किसानको कृषिउपजले बजार पाउन थालेको छ ।
भारतबाट आयात गरिएको सागसब्जीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा आयातमा कडाइ गरिएका कारण स्थानीय किसानले सन्तोषजनक मूल्य पाउन थालेका छन् ।
भारतीय सागसब्जी आयात रोकिएपछि अहिले बिहानीपख नेपालगन्जको धम्बोझीस्थित सुर्खेतरोडमा बाँके र बर्दिया जिल्लाका किसानले बिक्री गर्ने सागसब्जी किनमेलको लागि उपभोक्ताको भीड लाग्ने गरेको छ ।
भारतबाट आउने सागसब्जीलाई भन्सारमा कडाइ गरेपछि नेपालगन्जमा बाँकेका किसानले उत्पादन गरेको सागसब्जीले बजार पाएको नेपालगन्जस्थित रानीतलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताए ।
नेपालगन्जको रानीतलाउ सागसब्जी बजारमा अहिले बाँके जिल्लामै उत्पादन भएको सागसब्जी आउने गरेको छ । भारतबाट बिक्रीका लागि ल्याउने सागसब्जी भन्सार गर्नुपर्ने प्रावधानले स्वदेशी कृषिउपजले बजार पाएको छ ।
भारतबाट भन्सार गरेर सागसब्जी ल्याउँदा महङ्गो हुने भएकाले व्यवसायीले भारतीय सागसब्जी आयात कम गरेका छन् । नेपालगन्जको तरकारी बजारमा अहिले बाँकेको डुडुवा गाउँपालिका-६ स्थित हिरमिनिया, नेपालगन्ज-१४ बालेगाउँ, जानकी गाउँपालिकाको ढोडेगाउँ, खजुरा गाउँपालिकाका किसानले कृषिउपज बिक्री वितरण गर्ने गरेका छन् ।
सल्यान, सुर्खेत र बर्दियाबाट पनि थोक दरमा तरकारी बजारमा कृषिउपज आउने गरेको अध्यक्ष थापा क्षेत्रीले बताए । नेपालगन्जको सागसब्जी बजार बाँकेका किसानले व्यावसायिक रुपमा उत्पादन गरेको फूलगोभी, बन्दागोभी, लौका, फर्सी काँक्रा, बोडी, गोलभेँडा, खुर्सानीलगायतका कृषिउपजले धानेको छ ।
भारतबाट आउने तरकारी रोकिएपछि अहिले आफूहरुले उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाएको नेपालगन्ज उपमहानगरपालिका-२१ पुरैना गाउँका किसान जलालुद्दीन बागवनले बताए ।
यस वर्ष राप्ती नदीको किनारमा गरिएको तरभुजाखेतीका कारण भारतीय तर्भुजालाई समेत विस्थापित गरिदिएको थियो । बजारमा उपभोक्ता अर्गानिक तथा स्थानीय उत्पादनतर्फ आकर्षित भइरहेको उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal