
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवाको ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय युवा परिषद्ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले युवा ऊर्जाको सही सदुपयोग गरी राष्ट्रको दीर्घकालीन विकासमा साझेदार गराउनु सरकारको उद्देश्य भएको बताए । उनले मन्त्रालय युवाका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्न प्रयासरत रहेको जानकरी दिए ।
‘हाम्रो लक्ष्य युवालाई रोजगार खोजिदिनु मात्रै होइन, युवाको सिर्जना र क्षमताको अधिकतम सदुपयोग गरी नवीन अवसर सिर्जना गर्नु हो,’ मन्त्री यादवले भने ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले देशको कुल जनसंख्याको ४२.५६ प्रतिशत युवा रहेका र मुलुक पनि उनीहरूकै नेतृत्वमा सञ्चालन भएको वास्तविकता सुनाए ।
राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले ६६ प्रतिशत युवा देश निर्माणका आधारस्तम्भ भएको बताए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal