• Menu

नेपालका शिक्षा, स्वास्थ्य र कृषि परियोजनाका लागि भारतद्वारा ८० करोडभन्दा बढी सहयोग

नेपाल प्रफिट

२०८३ साउन २७, बुधबार ११:०६

नेपालका शिक्षा, स्वास्थ्य र कृषि परियोजनाका लागि भारतद्वारा ८० करोडभन्दा बढी सहयोग

काठमाडौं । नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले ८० करोड ३० लाख बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मंगलबार हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार कोशी प्रदेशको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘डिजिटलाइजेसन’, भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुनेछ ।

यस्तै, मोरङको बेलबारी नगरपालिका-३ मा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गरिनेछ । त्यस्तै, बागमती प्रदेशको धादिङको ज्वालामुखी गाउँपालिका-६ मा नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन, कर्णाली प्रदेशको दैलेखको डुङ्गेश्वर गाउँपालिका-५ मा १० शय्याको अस्पताल निर्माण हुनेछ ।

त्यस्तै, हुम्लाको सर्केगाड गाउँपालिका-४ मा कृषि प्रवर्धन केन्द्र र गण्डकी प्रदेशको स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ मा कोल्ड स्टोर निर्माण गरिनेछ । यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा संस्थामार्फत कार्यान्वयन गरिने छ ।