
इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व संकलन गरेको छ ।
कार्यालयले अघिल्लो आवभन्दा गत आवमा ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व संकलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिए । यो अघिल्लो आवको तुलनामा ५.६ प्रतिशतले बढी हो ।
कार्यालयले अघिल्लो आव ०८१/८२ मा १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व संकलन गरेको थियो । त्यसअघि आव ०८०/८१ मा ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो ।
कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व संकलन गरेको छ । सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट दुई करोड आठ लाख ६४ हजार ४५० प्राप्त गरेको थियो । त्यस्तै, यातायात क्षेत्रको आम्दानीबाट एक करोड २० लाख ६८ हजार ७९० संकलन भएको लेखा शाखा प्रमुख राईले जानकारी दिए ।
त्यस्तै, आयकरबाट ४० लाख चार हजार ३२०, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ३१ हजार ३००, व्यवसाय रजिस्ट्रेसन दर्ता दस्तुरबाट नौ हजार १०० र अन्य प्रशासनिक सेवा शुल्कबाट २७ हजार राजस्व संकलन गरेको थियो ।
त्यसैगरी, नेपाल-भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट ९५ लाख दुई हजार ९०० उठाएको थियो । यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्लाहरू पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीहरू पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख गोपाल दाहालले बताए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal