
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा करिब ५८ वर्षपछि स्थानीय बासिन्दाले आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
२०२५ सालमा गाउँब्लकका रूपमा नापी गरिएको उक्त क्षेत्रमा कुल ३२४ वटा जग्गा दर्ता कायम भएको थियो। तीमध्ये शुक्रबार २७१ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो।
लामो समयदेखि आफ्नो जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने लालपुर्जाको प्रतीक्षामा रहेका स्थानीयका लागि यो वितरण महत्वपूर्ण उपलब्धि बनेको छ । लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित भएको छ भने किनबेच, बैंकिङ कारोबार, ऋण सुविधा तथा अन्य सरकारी तथा प्रशासनिक सेवा लिन पनि सहज हुने भएको छ।
स्थानीयले झण्डै ६ दशकको प्रतीक्षापछि आफ्नै नाममा लालपुर्जा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। बाँकी दर्ता भएका जग्गाको लालपुर्जा वितरण प्रक्रिया पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अगाडि बढाइने जनाइएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal