• Menu

शिवकृष्ण जनरल स्टोरबाट २५० को सामान किन्ने सेवाग्राहीले जिते १० लाखको बम्पर उपहार

नेपाल प्रफिट

२०८३ साउन २२, शुक्रबार १३:०३

शिवकृष्ण जनरल स्टोरबाट २५० को सामान किन्ने सेवाग्राहीले जिते १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।

आन्तरिक राजस्व विभागले सुरु गरेको उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ जना विजेता र एक जना बम्पर उपहार विजेता छनोट गरे ।

विभागका अनुसार बम्पर उपहार कार्यक्रम अन्तर्गत १० लाख कुपन नम्बर ००७३१५२५४४९३ लाई परेको छ । यो कुपन भएका व्यक्ति शिवकृष्ण जनरल स्टोरबाट रु २५० को सामान खरिद गरी कार्यक्रममा सहभागी भएका थिए ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्दै अर्थमन्त्री वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने-दिने संस्कृतिको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई बढावा दिन मद्दत मिल्ने बताए ।

उनले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको उक्त कार्यक्रमले सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउनेमा विश्वास व्यक्त गरे ।

‘हामी बिलिङ कल्चरमा जानुपर्छ । सबै कारोबार अभिलेखमा आउनुपर्छ । नागरिकबाट कति कर उठ्यो र त्यो रकम कहाँ खर्च भयो भन्ने कुरा पारदर्शी रूपमा देखिने सार्वजनिक वित्त प्रणाली निर्माण गर्नु हाम्रो लक्ष्य हो,’ उनले भने ।

डिजिटल भुक्तानीमार्फत भएका कारोबार स्वतः प्रणालीमा अभिलेख हुने व्यवस्था गरिएको छ । पहिलो चरणमै करिब दुई करोड ५६ लाख कारोबार र ७६ अर्ब भन्दा बढी रकमका प्रणालीमा समावेश भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा मासिक कारोबार खर्बौ पुग्ने विश्वास अर्थमन्त्रीले व्यक्त गरे ।

‘कार्यक्रमले धेरै करदातालाई डिजिटल माध्यम प्रयोग गर्न, बिल लिन-दिन र करको दायरामा आउन प्रोत्साहित गर्छ,’ उनले भने, ‘राजस्व चुहावट नियन्त्रण गर्दै औपचारिक अर्थतन्त्र विस्तार गर्न यो कार्यक्रम प्रभावकारी हुनेछ ।’

सरकारले बिल बिजक (भ्याट बिल) लिने-दिने संस्कृतिलाई प्रवर्द्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सुरु गरेको हो ।

त्यस अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले चालु आर्थिक वर्षको साउन १ देखि १५ गतेसम्म दैनिक तथा पहिलो पाक्षिकको बम्पर उपहारका विजेता कम्प्युटर प्रणालीमार्फत छनोट गरिएको जानकारी दिए ।

उनका अनुसार विजेता छनोटका लागि ‘क्रिप्टोग्राफिकली सेक्योर युनिफर्म र्‍यान्डम स्याम्पलिङ विथआउट रिप्लेसमेन्ट’ विधि प्रयोग गरिएको छ । यस विधिबाट सबै कुपनले समान अवसर पाउने, एउटै कुपन एउटै छनोटमा दोहोरिन नसक्ने तथा छनोट प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र सुरक्षित हुने उनको भनाइ छ ।

यही साउन १ देखि १५ गतेसम्म ७ हजार ७७ वटा नगद कारोबारबाट करिब ८ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा खरिदको विवरण विभागको वेबसाइटमा प्रविष्ट गरिएको छ ।

विवरणअनुसार तीन हजार ९१५ विक्रेतासँग भएका कारोबार समावेश छन्भने विद्युतीय भुक्तानीमार्फत दुई करोड ५६ लाख ८ हजार ९४ वटा कारोबार भएका छन् । कुल कारोबार रकम ७६ अर्ब ६० करोड तीन लाख २३ हजार ३८१ भएको छ । डिजिटल माध्यमबाट भएका कारोबार स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था छ ।