• Menu

उपत्यकाको यातायात संरचना बदल्न सन् २०५० सम्मको गुरुयोजना सार्वजनिक, चाबहिल र महाराजगन्जमा सुरुङ

नेपाल प्रफिट

२०८३ साउन २१, १३:४३

उपत्यकाको यातायात संरचना बदल्न सन् २०५० सम्मको गुरुयोजना सार्वजनिक, चाबहिल र महाराजगन्जमा सुरुङ
तस्बीर एआई

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा गर्न लागिएको छ ।

उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ यातायात गुरुयोजनाले दीर्घकालीन रूपमा यातायात संरचनामा सुधार ल्याउने सरोकारवालाको भनाइ छ ।

‘जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना’ सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले उपत्यकाको पूर्व-पश्चिम तथा उत्तर-दक्षिण यातायात सञ्जाललाई सुदृढ बनाउने संरचनामा विशेष ध्यान दिनुपर्ने बताए ।

‘काठमाडौंको पूर्व र पश्चिम क्षेत्रलाई प्रभावकारी रूपमा जोड्ने संरचना निर्माणमा विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘विशेषगरी उत्तर-पूर्वी खण्डबाट पूर्व र पश्चिमलाई जोड्ने वैकल्पिक मार्ग तथा प्रमुख चोकको पुनर्संरचनाले भविष्यमा यातायात व्यवस्थापनलाई सहज बनाउन सक्छ ।’

सदस्य थापाले काठमाडौं उपत्यकाको पूर्व-पश्चिम सम्पर्कलाई थप प्रभावकारी बनाउन नयाँ पूर्वाधार विकास आवश्यक रहेको धारणा राखे । उनले बढ्दो सहरीकरण र सवारी चापलाई मध्यनजर गर्दै दीर्घकालीन सोचका साथ पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।

‘यो गुरुयोजना कार्यान्वयनमा आएपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सडक सम्बन्धी समस्या सम्बोधन हुनेछ,’ उनले भने ।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले गुरुयोजनाले सहरी यातायात सुधारका लागि पूर्वाधार विकास र सार्वजनिक यातायात सुधारका कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकता दिएको जानकारी दिए ।

उनका अनुसार योजनामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी २२ वटा पूर्वाधारसम्बन्धी कार्यक्रम तथा सार्वजनिक यातायात सुधारका १३ वटा कार्यक्रम प्रस्ताव गरिएको छ ।

उनले गुरुयोजनाको पूर्ण कार्यान्वयनबाट सन् २०५० सम्म काठमाडौं उपत्यकाको यातायात प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र दिगो बनाउने लक्ष्य लिइएको बताए ।

चक्रपथमा मास ट्रान्जिट प्रणाली, रत्नपार्कदेखि भक्तपुरसम्म उच्च क्षमतायुक्त सार्वजनिक यातायात सेवा, पूर्व-पश्चिम जोडमार्गको विस्तार तथा आवश्यक स्थानमा नयाँ मास ट्रान्जिट विकल्पसमेत योजनामा समेटिएको उनले जानकारी दिए ।

हालको सार्वजनिक यातायात प्रणालीलाई यात्रुमैत्री बनाउन संरचनागत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै सहसचिव ढकालले यातायात सञ्चालनलाई कम्पनी मोडलमा रूपान्तरण, रुट व्यवस्थापन तथा संस्थागत सुधारलाई पनि गुरुयोजनाले प्राथमिकतामा राखेको बताए ।

उनका अनुसार विष्णुमती, धोबीखोला र ग्वार्कोमा नयाँ पुल, ठमेल, केएमसी दरबार, एलएमसी दरबारमा कार पार्किङ, साइक्लिङ पथ, ट्राफिक सेफ्टी, सडक चोक स्तरोन्नति, आपत्कालीन सडक सञ्जालको विकास र चक्रपथ सडकबाहिर पार्किङ सुविधाजस्ता विषय गुरुयोजनामा समावेश गरेको छ ।

गुरुयोजनामा महाराजगन्ज र चाबहिल-गौशाला भूमिगत मार्ग, चाबहिल-बागमती र त्रिपुरेश्वर-माइतीघरमा आकासे पुल, विष्णुमतीमा नदी तटीय मार्ग, सातदोबाटो-गोदावरी जोड्ने नयाँ कर्मनाशा पुल, चौडा चक्रपथ, थापाथली-त्रिपुरेश्वर क्षेत्रमा पुल निर्माण र बागमती नदी किनार कोरिडोरको स्तरोन्नति तथा बौद्धमार्ग सडक चोक सुधार योजनालाई समावेश छ ।

गुरुयोजनाले उपत्यकाका मुख्य जाम हुने क्षेत्रमा अन्डरपास, भूमिगत सुरुङ, आकासे सडक र ठूला बसको एकीकृत सञ्चालनमार्फत ट्राफिक समस्याको दीर्घकालीन समाधान गर्ने लक्ष्य राखेको छ ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले तीव्र सहरीकरण, बढ्दो सवारीसाधनको चाप र बढ्दो लगानीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न दीर्घकालीन र समग्र यातायात योजना अपरिहार्य रहेकोमा जोड दिएको छ ।

पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार गरिएको उक्त गुरुयोजनाले एकीकृत, दक्ष, सुरक्षित तथा वातावरणमैत्री सहरी यातायात प्रणालीको विकासका लागि दीर्घकालीन रणनीतिक मार्गदर्शन प्रदान गरेको छ ।

योजनाले दिगो सहरी विकासलाई प्रवर्धन गर्दै आधुनिक, भरपर्दो र सबै नागरिकको पहुँचमा पुग्ने सार्वजनिक यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ ।