• Menu

भोजपुरको नागीबासीले मह बेचेर भित्र्याए एकैवर्षमा सवा करोड

नेपाल प्रफिट

२०८१ जेठ २८, ०९:२४

भोजपुरको नागीबासीले मह बेचेर भित्र्याए एकैवर्षमा सवा करोड

भोजपुर । भोजपुरको नागी क्षेत्रका किसानका लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा एक करोड २० लाखभन्दा बढी भित्रिएको छ ।

टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक मौरीपालन गरेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकाले हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थानमा मौरीपालन गरिँदै आएको छ ।

मह आम्दानीको राम्रो स्रोत बनेको किसान सारुहाङ राईले बताए । उनले १८ वटा आधुनिक घार राखेका छन् । एक पटकमा सय किलोसम्म मह उत्पादन गर्छन् ।

एक वर्षमा दुईदेखि तीन पटकसम्म मह काढ्न सकिने उनले जानकारी दिए । स्थानीय बजारमा मह प्रतिकिलो एक हजार पाँच सयमा बिक्री हुने गरेको छ ।

उनको क्षेत्रमा मात्रै ५० भन्दा बढी घर परिवारले मौरी पालेका छन् । नागी क्षेत्रबाट एक वर्षमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको मह उत्पादन भएको वडा नम्बर ४ का अध्यक्ष हर्कराज राईले बताए ।

मौरीपालनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन वडाले भूमिका खेलिरहेको जनाएको छ । ‘अहिले हामीले आधुनिक माटेघार वितरणमा जोड दिएको छौँ । न्यानो हुने भएकाले माटेघारमा मौरीपालन गर्दा हिउँद समयमा मौरीलाई बचाउन सकिन्छ,’ उनले भने ।

व्यावसायिक मौरीपालनमा लागेका किसानलाई थप प्रोत्साहन गर्न गाउँपालिका र वडासँगको सहकार्यमा करिब सात लाख ७० हजार रुपैयाँबराबरको दुई सय आधुनिक माटेघार वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए ।

पराम्परागत रुपमा मौरीपालन गर्दै आएका किसान गाउँपालिकाले आनुधिक प्रविधिको घार वितरण गरेपछि उत्साहित भएका छन् । किसान शुक्रराज राईले परम्परागत घारको तुलनामा आधुनिक घारमा मह बढी उत्पादन हुने बताए ।

गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उपाध्यक्ष रमादेवी राईले बताइन् । किसानलाई व्यावसायिक बनाउन उनीहरुको आवश्यकताका आधार सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।