• Menu

कृषि तथा वातावरणमन्त्री गिता चौधरी र युनिसेफ प्रतिनिधि अकुङ्गाबीच भेटवार्ता

नेपाल प्रफिट

२०८३ साउन १५, शुक्रबार १६:३६

कृषि तथा वातावरणमन्त्री गिता चौधरी र युनिसेफ प्रतिनिधि अकुङ्गाबीच भेटवार्ता

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि एलिस अकुङ्गाले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरूबीच नेपालको विश्वासिलो विकास साझेदारका रूपमा युनिसेफले देशभरका बालबालिका र महिलाको जीवनस्तर सुधार गर्न गरिरहेको योगदानका बारेमा चर्चा भएको थियो ।

मन्त्री चौधरीले नेपालसँगको दीर्घकालीन साझेदारी र विभिन्न आवधिक राष्ट्रव्यापी कार्यक्रममार्फत युनिसेफले पुर्‍याएको निरन्तर सहयोगका लागि आभार व्यक्त गरिन् । उनले युनिसेफको राष्ट्रव्यापी कार्यक्रम कार्ययोजनाका प्राथमिकता र सञ्चालित कार्यक्रम नेपालका विकास प्राथमिकतासँग मिल्ने देखिएका उल्लेख गर्दै सो योजनाका लागि धन्यवाद दिइन् ।

मन्त्री चौधरीले नेपाल सरकारले सुशासन, समावेशी आर्थिक वृद्धि, गुणस्तरीय सार्वजनिक सेवा प्रवाह र संस्थागत सुदृढीकरणका लागि एक सयबुँदे सुधार कार्यक्रम सञ्चालन गरेको अवगत गराउँदै त्यसमा स्वास्थ्य र शिक्षा क्षेत्रका सुधारसमेत समावेश गरिएको जानकारी गराइन् ।

उनीहरूबीच नेपाल सरकार र युनिसेफबीचको विद्यमान सहकार्य र सहयोगको स्तरलाई अझ सुदृढ बनाउन सहकार्य र समन्वयबाट काम गर्न आवश्यक रहेका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।