• Menu

प्रधानमन्त्री शाहसँगको छलफलमा तराईका सांसद : ‘हिंसा फैलिन दिँदैनौँ’

नेपाल प्रफिट

२०८३ साउन १५, शुक्रबार १६:१६

प्रधानमन्त्री शाहसँगको छलफलमा तराईका सांसद : ‘हिंसा फैलिन दिँदैनौँ’

काठमाडौं । तराई-मधेसका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आफ्ना क्षेत्रमा थप हिंसा फैलिन नदिन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएको छलफलमा सहभागी सांसदहरूले सरोकारवालासँग निरन्तर संवाद गर्ने, सामाजिक सञ्जालमा फैलाइने अफवाह र भ्रामक सूचनामाथि निगरानी बढाउने तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि रोक्न आवश्यक पहल गर्ने बताएका हुन् ।

सांसदहरूले सरकारसँग पनि सीमा नाकामा सुरक्षा कडा पार्ने, मदिरा बिक्री–वितरणमा नियन्त्रण गर्ने, अवस्था सामान्य बन्दै गएपछि क्रमिक रूपमा कर्फ्यु हटाउने तथा विशेषगरी युवामाझ सामाजिक सद्भावसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

धनुषा-३ का सांसद मनिष झाले पत्रकारको नाम दुरुपयोग गरेर गलत सूचना फैलाउने गतिविधिमाथि प्रेस काउन्सिलमार्फत कारबाही गर्नुपर्ने आवश्यकता औँल्याए । उनले पछिल्लो तनावमा १२ देखि २२ वर्ष उमेर समूहका युवाको संलग्नता बढी देखिएको उल्लेख गर्दै यही समूहलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिए। साथै, सीमा क्षेत्रमा निगरानी कडा गर्न, आवश्यकताअनुसार निषेधाज्ञा जारी गर्न, सुरक्षा परिचालन बढाउन र मदिरा पसल समयमै बन्द गराउनुपर्ने धारणा राखे ।

कपिलवस्तु-२ का सांसद विक्रम थापाले सामाजिक सञ्जालमार्फत फैलिने अफवाहले तनाव बढाउने भएकाले त्यसको प्रभावकारी निगरानी आवश्यक रहेको बताए । उनले सुरक्षा तथा गुप्तचर संयन्त्रलाई थप प्रभावकारी बनाउन र घटनामा प्रयोग भएका हतियार तथा गोलीबारे विस्तृत अनुसन्धान गर्नुपर्ने सुझाव दिए।

रौतहटकी सांसद गजाला शमिम मिकरानीले दीर्घकालीन रूपमा सामाजिक सद्भाव कायम राख्न विद्यालय तथा कलेज तहदेखि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन्। उनले अल्पसंख्यक समुदायका सरोकारलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन्।

बारा-४ का सांसद रहबर अन्सारीले घटनाको तत्काल नियन्त्रणसँगै त्यसका मूल कारण पहिचान गरी दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए। उनले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रमपूर्ण सामग्रीमाथि निगरानी बढाउन तथा संवेदनशील क्षेत्रमा समयमै सतर्कता अपनाउन सुझाव दिए।

कपिलवस्तु-१ का सांसद मोहनलाल आचार्यले युवालाई सहभागी गराएर सद्भाव अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल, विद्यार्थी, स्थानीय जनप्रतिनिधि र युवाबीच नियमित संवादको वातावरण बनाउनुपर्ने बताए ।

धनुषा-४ का सांसद राजकिशोर महतोले स्थानीयस्तरमा विश्वासिला व्यक्तिलाई परिचालन गरेर तनाव नियन्त्रण गर्न सकिने उल्लेख गर्दै संवेदनशील अवस्थामा मदिरा बिक्रीमा रोक, आवतजावतमा निगरानी तथा आवश्यकताअनुसार परिचयपत्र जाँचको व्यवस्था गर्नुपर्ने सुझाव दिए।

बारा-२ का सांसद चन्दनकुमार सिंहले धार्मिक तथा सांस्कृतिक कार्यक्रममा ठूलो आवाजमा बजाइने डिजेका कारण पनि दुई समुदायबीच तनाव उत्पन्न हुने गरेको भन्दै त्यसलाई नियमन गर्नुपर्ने बताए ।

सर्लाही-१ की सांसद नितिमा कार्की (भण्डारी)ले जिल्लाको अवस्था सामान्य रहेको जानकारी दिँदै स्थानीय जनप्रतिनिधि समुदायसँग निरन्तर सम्पर्कमा रहनुपर्ने र डिजे प्रयोगमा नियमन आवश्यक रहेको बताइन् ।

छलफलमा सहभागी सांसदहरूले पछिल्लो तनावलाई केवल सुरक्षा चुनौतीका रूपमा नभई सामाजिक, राजनीतिक र सूचना प्रवाहसँग जोडिएको विषयका रूपमा हेरेर समग्र रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।