
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण प्रतिवेदन स्वीकृत गर्दै प्रशासनिक संरचनामा व्यापक सुधार गरेको छ। मन्त्रालयले दोहोरोपन हटाउँदै प्रविधि र तथ्यांकमा आधारित नतिजामुखी प्रशासनको अवधारणा लागू गर्न नयाँ संरचना कार्यान्वयनमा ल्याएको जनाएको छ।
नयाँ संरचनाअनुसार मन्त्रालयमा रहेको दुई सचिवको व्यवस्था खारेज गरी अब एक सचिव मात्रै रहने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार यसले निर्णय प्रक्रियालाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
मन्त्रालयले संगठनात्मक संरचनालाई पाँचबाट चार महाशाखामा सीमित गर्दै ‘जनस्वास्थ्य समन्वय तथा सूचना प्रविधि महाशाखा’ स्थापना गरेको छ। यसमार्फत डिजिटल रूपान्तरणलाई संस्थागत गर्दै तथ्यांक अधिकृत, अर्थशास्त्री तथा वेब/एप डेभलपरलगायतका प्राविधिक जनशक्तिको व्यवस्था गरिएको छ। मन्त्रालयले यसबाट नीति निर्माण र कार्यसम्पादनलाई तथ्यांक तथा प्रविधिमा आधारित बनाउने जनाएको छ।
पुनर्संरचनाअन्तर्गत नीति, योजना तथा अनुगमन र जनसंख्या व्यवस्थापन हेर्ने अतिरिक्त सचिवहरूको दरबन्दी हटाइएको छ। प्रदेश तथा स्थानीय स्वास्थ्य समन्वय, बहुक्षेत्रीय समन्वय, विकास सहायता समन्वय, सार्वजनिक सूचना समन्वय तथा जनसंख्या व्यवस्थापनसँग सम्बन्धित केही शाखा खारेज गरी तिनका कार्य नयाँ महाशाखाअन्तर्गत समायोजन गरिएको छ।
अब मन्त्रालयको कार्यसम्पादन चार महाशाखामार्फत सञ्चालन हुनेछ:
खाद्य सुरक्षा र जनस्वास्थ्य नियमनलाई थप प्रभावकारी बनाउन ‘खाद्य गुणस्तर नियमन शाखा’ पनि स्थापना गरिएको मन्त्रालयले जनाएको छ। यस शाखाले खाद्य क्वारेन्टाइन, खाद्य प्रविधि तथा गुण नियन्त्रण र औषधि नियमनसम्बन्धी कार्यलाई समन्वय गर्नेछ।
यस्तै, कर्मचारी प्रशासन र आन्तरिक प्रशासन शाखालाई गाभेर ‘प्रशासन तथा मानव स्रोत व्यवस्थापन शाखा’ गठन गरिएको छ। मन्त्रालयको कुल दरबन्दी पनि १,८०८ बाट घटाएर १,८०६ कायम गरिएको छ।
मन्त्रालयले यो पुनर्संरचनालाई प्रविधिमैत्री, उत्तरदायी र सेवाग्राहीमैत्री स्वास्थ्य प्रशासन निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्दै सुधारको यो अभियान मातहतका विभागहरूसम्म विस्तार गर्ने तयारी भइरहेको जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal