सप्तरी । सप्तरीमा बिहीबार बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धार्मिक आस्था, संस्कृति वा समुदायलाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने तथा सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ।
राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार, नागरिक समाज, बुद्धिजीवी तथा अभिभावक सहभागी बैठकले सुनसरी घटनालाई आधार बनाएर सप्तरीमा हुन सक्ने प्रदर्शन वा अराजक गतिविधिबाट थप क्षति र अप्रिय अवस्था सिर्जना हुन नदिन विशेष सतर्कता अपनाउने निर्णय गरेको हो। अभिभावकमार्फत आफ्ना सन्तानलाई शान्ति, सुरक्षा, सद्भाव र अनुशासनको सन्देश दिनुपर्नेमा पनि बैठकले जोड दिएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण श्रेष्ठका अनुसार बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचानलाई संरक्षण गर्दै सामाजिक एकता सुदृढ बनाउने वातावरण तयार पारिने निर्णय गरिएको छ। विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी कुनै पनि उच्छृङ्खल गतिविधिमा संलग्न हुन नदिन क्याम्पस प्रमुख, प्रधानाध्यापक तथा शिक्षक-शिक्षिकाले विशेष पहल गर्ने सहमति पनि भएको छ।
बैठकले प्रदर्शनमा बालबालिकाको प्रयोग पूर्ण रूपमा रोक्नुपर्नेमा सहमति जनाउँदै जिल्लाभर विभिन्न जातजाति, भाषाभाषी, धर्म र समुदायबीच आपसी एकता, सहिष्णुता र भ्रातृत्व अभिवृद्धिका लागि स्थानीय तहसम्म सद्भाव र्याली तथा संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
त्यसैगरी सुनसरी घटनाको पारदर्शी र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसमक्ष आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै सामाजिक सद्भावमा आँच पुग्ने गतिविधिप्रति सजग रहन सबै नागरिकलाई अपिल गरिएको छ।