काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सरकारले अघि सारेको सुशासनको नीतिअनुसार काम गर्दै चालु आर्थिक वर्षका कार्यक्रमलाई परिणाममुखी बनाउन मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएकी छन् ।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले नयाँ सरकार गठनपछि पहिलो १०० दिनका लागि तय गरिएको १०० बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयनमा मन्त्रालयले देखाएको सक्रियताको प्रशंसा गरिन्।
उनले अघिल्लो आर्थिक वर्षका कमजोरीबाट सिकेर चालु वर्षका योजना सुरुदेखि नै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै समयमै लक्ष्य हासिल गर्न सबै निकायले नतिजामुखी ढंगले काम गर्नुपर्ने बताइन् ।
मन्त्री यादवले कम्पनी रजिष्ट्रार कार्यालय तथा उद्योग विभागका सेवा अनलाइन प्रणालीमा गइसकेको उल्लेख गर्दै मन्त्रालयअन्तर्गत अझै डिजिटल हुन बाँकी रहेका सबै सेवालाई शीघ्र अनलाइन प्रणालीमा रूपान्तरण गर्न निर्देशन दिइन् । सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन आवश्यक प्रक्रिया अघि बढाउन पनि उनले आग्रह गरिन् ।
सुशासन सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री यादवले मन्त्रालय, विभाग र मातहतका कार्यालयमा पारदर्शिता, इमान्दारिता र जवाफदेहितामा कुनै सम्झौता नगर्न निर्देशन दिइन् ।
चाडपर्व नजिकिँदै गएकाले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन, उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न तथा कालोबजारी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न पनि उनले निर्देशन दिइन् ।
त्यसैगरी, औद्योगिक वातावरण सुधार, व्यापार विस्तार र मन्त्रालयको समग्र प्रगति तीव्र बनाउन आवश्यक नीतिगत सहजीकरणका लागि आफू सदैव तयार रहेको उल्लेख गर्दै मन्त्री यादवले सबै निकायलाई समन्वय र प्रतिबद्धताका साथ काम गर्न आग्रह गरिन् ।
मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/८३ को प्रगति, बजेट कार्यान्वयन, शासकीय सुधारका १०० बुँदे कार्यसूचीको अवस्था तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो । साथै, आगामी लक्ष्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय, विभाग र मातहतका निकायबीच नियमित समन्वय र नतिजामुखी कार्यसम्पादनमा जोड दिइएको उनले जानकारी दिए।