काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको ऐतिहासिक विरासत भनेको सामाजिक सद्भाव कायम राखेकाले संवाद र सहमतिबाट समस्याको समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सुनसरीको परिस्थिति असहज हुन दिन नहुने र त्यसका लागि सबै पक्षले सामाजिक सद्भावलाई महत्व दिएर अघि बढ्नुपर्ने बताए । नेता दाहालले सुनसरीको कप्तानगन्जमा गोली चलाउनु पर्ने अवस्था थियो वा थिएन भन्ने विषय पनि सत्यतथ्य बाहिर आउनुपर्ने धारणा व्यक्त गरे ।
प्रचलित संविधान, कानुन र व्यवहारअनुसार यस किसिमका घटनाको समाधान तथा व्यवस्थापन गर्ने कामको नेतृत्व प्रधानमन्त्रीबाट हुनुपर्ने धारणा व्यक्त गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार बोलाएको सर्वदलीय बैठकलाई भने सकारात्मक कदमका रूपमा लिनुपर्ने बताए ।
अहिलेको असहज अवस्थामा पनि संवाद र सहकार्य हुन आवश्यक छ भन्दै पूर्वप्रधानमन्त्री दाहालले सरकारको नेतृत्वमा प्रमुख राजनीतिक पार्टीहरूबीचको एकता र सहकार्यबाट संवेदनशील समस्याको समाधान खोजिनुपर्ने धारणा व्यक्त गरे ।
उनले सुकुम्बासी, ट्रेड युनियन, विद्यार्थी संगठन, सीमा विवादसम्बन्धी विषयमा वर्तमान सरकारबाट राम्रो काम नभएको उल्लेख गर्दै संविधान संशोधनका विषयमा सरकार जसरी प्रस्तुत भयो, त्यसले संविधानलाई कमजोर बनाउन लागेको त होइन भन्ने प्रश्न आमजनतामा देखिएको भनी सरकारको ध्यानाकषर्ण गरे ।
पूर्वप्रधानमन्त्री दाहालले नेपाली जनताको लोकतान्त्रिक अधिकारका लागि पछिल्लो समय भइरहेका केही घटनाक्रमले सही संकेत नगरेको टिप्पणी गरे । गणतन्त्र दिवसका दिन प्रधानमन्त्रीले नबोल्नु, संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका समयमा प्रधानमन्त्री उठेर हिड्नु र सीमाका विषयमा प्रधानमन्त्रीले संसद्मा बोलेको विषयलाई लोकतान्त्रिक शासन प्रणालीमा राम्रो मान्न नसकिने धारणा व्यक्त गरे ।
‘लोकतन्त्रप्रतिको निष्ठा र राष्ट्रप्रतिको जिम्मेवारीका पक्षमा हामी सबै सांसदले भूमिका निर्वाह गर्नुपर्छ, प्रधानमन्त्री बालेन्द्र शाहलाई भन्छु, ठूला समस्याको निकास दिने जेल-नेल भोगेका नेता मुलुकमा छन्, तीसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई के ले रोकेको हो, नेपालको राष्ट्रिय स्वाधीनताको रक्षाका निमित्त एकताबद्ध हुन जरुरी छ, प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिले अप्ठ्यारो बनाएको छ । सहज परिस्थिति निर्माण गर्न उहाँले संसद्मा स्पष्टीकरण दिनुपर्छ,’ उनले भने ।
विगतमा शान्ति प्रक्रियाका क्रममा निर्वाह गरेको भूमिकाको चर्चा गर्दै पूर्वप्रधानमन्त्री दाहालले त्यस अनुरुप अहिलेका दलले पनि पाठ सिक्नुपर्ने बताए । उनले २०७२ वैशाख १२ गतेको ‘गोर्खा’ भूकम्प आएको बेला तत्कालीन नेकपा माओवादी प्रतिपक्षी दल भएपनि विपदको समयमा सरकारसँग सहकार्य गरी राहत, उद्धार र पुनर्स्थापनाका काममा सक्रिय रूपमा सहभागी भएको स्मरण गरे ।
नेपाली जनताका बीच राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गरी नेपाललाई स्वतन्त्र, सुदृढ र सम्पन्न मुलुक बनाउने अभियानमा अहिले सत्तारुढ दल रास्वपाको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्दै नेता दाहालले देशलाई अप्ठ्यारो परेको अवस्थामा यसअघि जस्तै आफ्नो पार्टी सहयोग र सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।