काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेपछि गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा बिहीबार दिउँसोदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लागू गरिएको प्रशासनले जनाएको छ ।
जारी आदेशअनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वमा गोलबजार नगरपालिका-३ को कसहा खोलादेखि पश्चिममा चोहर्वा चोकसम्म तथा उत्तरमा गोलबजार नगरपालिका-६ को सैनिक चोकदेखि दक्षिणमा गोलबजार नगरपालिका-४ स्थित राप्रपा बहुमुखी क्याम्पस क्षेत्रसम्म कर्फ्यू लागू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा आन्दोलन तथा सम्भावित हुलदंगाबाट सार्वजनिक शान्ति-सुरक्षामा असर पर्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न तथा सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।