काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसदहरुले सुनसरीको देवानगन्ज र कप्तानगन्ज ,वीरगन्जको नारायणी अस्पताल र अविरल वर्षाका कारण उत्पन्न जोखिम जस्ता विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले सामाजिक सद्भाव र एकतामार्फत सुनसरी घटनालाई समाधान खोज्न सकिने जनाउँदै अगामी दिनमा यस्ता घटना हुन नदिन सबैपक्ष सचेत बन्नुपर्छ भने । बैठकमा सांसद समिना मियाँले देवानगन्ज र कप्तानगन्ज घटनालाई लिएर राजनीतिक नगर्न आग्रह गर्दै आगामी दिनमा यस्ता घटना नहुन सबै पक्ष सचेत बन्नुपर्छ भने ।
सांसद बुद्धिप्रसाद पन्तले गत शनिबार वीरगन्जको नारायणी अस्पतालमा सेवारत चिकित्सकमाथि कुटपिट हुनु दुःखद् भएको चर्चा गर्दै सो घटना छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरे । सांसद रेखाकुमारी यादवले सुनसरी घटना दोहोरिन नदिन सबैपक्ष सचेत बन्नुपर्नेमा जोड दिइन् ।
बैठकमा सांसद प्रमिलाकुमारी गच्छदारले सुनसरीमा सामान्य विवादका कारण अकल्पनीय घटना हुन दुःखद् भएको जनाउँदै सरकारले नागरिकका सुरक्षालाई पहिलो प्राथमिता दिनुपर्ने बताइन् ।
सांसद भूमिका लिम्बू सुब्बाले गत जेठ ८ गते परेको अविरल वर्षाका कारण पाँचथरमा क्षति भएको सदनलाई जानकारी गराउँदै तत्काल उद्धार, राहत र क्षतिपूर्तिको माग गरिन् ।
सांसद नीता घतानीले माइतीघर मण्डला परिसरमा धर्नामा बस्दै आएकी दीपा नेपालीले उठान गरेका माग पूरा गर्न सरकारसंग आग्रह गरिन् ।
सांसद नरेन्द्रकुमार केररुङले मध्यपहाडी राजमार्ग उद्गम जिल्ला रहेको पाँचथरमा बाढीका कारण त्यहाँका नागरिक समस्यामा परेको र क्षति भएको पक्की पूल बनाउन समय लाग्ने भएकाले तत्काल बेलिब्रिज बनाएर समस्या समाधान गर्न माग गरे ।
सांसद विश्वराज पोखरेलले ओखलढुंगाका चम्पादेवी गाउँपालिका-३ की घर भई मलेसियाको कोपिला दुलालको गत असार ४ गते हत्या भएको घटनाको छानविन गरी दोषिमाथि कारबाही गर्न माग गरे ।
सांसद गणेश कार्कीले लोकसेवा परीक्षा रोकियो भनेर हल्ला मात्रै भएको जनाउँदै सरकारले आवश्यकताका आधारमा परीक्षा लिनका लागि रोक नलगाएको बताए ।
सांसद पूर्णप्रसाद लिम्बूले हालै आएको अविरल वर्षाका संखुवासभा चैतपुर नगरपालिका-४ मा ओरिङ्गा टोलमा पहिरो जाँदा खानेपानीका पाइप क्षति भएर २०० परिवार खानेपानी विहीन भएको र अलैची खेती नष्ट भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उचित व्यवस्था गर्न माग गरे ।
सांसद बलावती शर्माले सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिइन् । सांसद सुलभ खरेलले सुकुमवासीलाई व्यवस्थित गर्न जिल्ला जिल्लामा माग भइरहेको आफूले अनुभव गरेको बताए ।
सांसद रमेश मल्लले भारतमा हराएका नेपालीको खोजी गरी स्वदेश फर्काउन माग गरे । सांसद यज्ञमणि न्यौपानेले सहिष्णुताका आधारमा राजनीति गर्नुपर्नेमा जोड दिए ।
सांसद रीमा विश्वकर्माले बर्दिया जिल्लामा ८२ परिवार सुकुमवासीले लालपुर्जा पाएकाले भूमिहीनको समस्या समाधान गर्न सरकार लागिपरेको बताइन् ।