• Menu

विद्युत प्राधिकरणको पोल भाडा बक्यौता उठ्न थाल्यो, वर्ल्डलिंकले सुरु गर्‍यो भुक्तानी

नेपाल प्रफिट

२०८३ साउन १४, १३:१२

विद्युत प्राधिकरणको पोल भाडा बक्यौता उठ्न थाल्यो, वर्ल्डलिंकले सुरु गर्‍यो भुक्तानी

काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल विद्युत प्राधिकरणको विद्युत पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ। यससँगै इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले विद्युत पोल भाडाको बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ।

नेपाल विद्युत प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत वर्ल्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपछिको रकम भुक्तानी प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्सको प्रमाणीकरणका आधारमा हिसाब मिलान गर्दै यसअघि भएको दोहोरो भुक्तानीसमेत समायोजन गरी बाँकी रकम तिरेको जनाएको छ ।

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राज्यको पूर्वाधार उपयोग गर्ने सबै सेवा प्रदायकले कानुनबमोजिम तिर्नुपर्ने शुल्क समयमै भुक्तानी गर्नु आफ्नो दायित्व भएको बताए ।

उनले वर्ल्डलिंकबाट सुरु भएको भुक्तानी प्रक्रियालाई सकारात्मक सुरुआतको रूपमा व्याख्या गर्दै अन्य सेवा प्रदायकहरूले पनि कानुनी दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री श्रेष्ठले सरकार विधिको शासन र कानुनको निष्पक्ष कार्यान्वयनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्या कानुनको सीमाभित्र रहेर समाधान गरिने स्पष्ट पारे । साथै, कानुन कार्यान्वयनलाई अनावश्यक रूपमा राजनीतिक रंग दिने वा भ्रम फैलाउने प्रयासप्रति सचेत रहन आग्रह गर्दै सबैका लागि समान रूपमा कानुन लागू हुने सरकारको नीति रहेको दोहोर्‍याए ।