• Menu

सुनसरी घटनालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै एमाले

नेपाल प्रफिट

२०८३ साउन १४, ११:३६

सुनसरी घटनालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै एमाले

काठमाडौं । नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने भन्दै प्रतिनिधिसभामा उनीहरूको राजीनामाको माग गरेको छ ।

१४ दिनपछि बसेको प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौंमा गोली चलेको घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै सुनसरी घटनामा पनि त्यही मापदण्ड लागू हुनुपर्ने बताइन् ।

उनले सुनसरीमा भएको घटनामा नागरिकको ज्यान गएको उल्लेख गर्दै वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने कि नपर्ने भन्ने प्रश्न उठाइन् ।

अर्यालले सरकारले देशमा शान्ति-सुरक्षा कायम गर्न नसकेको आरोप लगाउँदै दंगा नियन्त्रणमा सरकार असफल भएको दाबी गरिन्। उनका अनुसार राज्यले हिंसात्मक अवस्था नियन्त्रण गर्नुको सट्टा जनतामा थप त्रासको वातावरण सिर्जना गरेको छ ।

उनले सुनसरी घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने र घटनाको जिम्मेवारीबाट पन्छिन नमिल्ने धारणा पनि व्यक्त गरिन् ।