• Menu

दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा, २२ लाखभन्दा बढी बक्यौता

नेपाल प्रफिट

२०८३ साउन १४, १४:१५

दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा, २२ लाखभन्दा बढी बक्यौता

झापा । दमक-३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा संकलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि भुक्तानी नगर्दा करिब दुई सय दुग्ध किसान आर्थिक संकटमा परेका छन् ।

प्रारम्भिक रूपमा ६० किसानको २२ लाख ६५ हजार २०० बक्यौता प्रमाणित भइसकेको छ भने पीडितका अनुसार रकम पाउन बाँकी किसानको सङ्ख्या अझै धेरै छ । भुक्तानी नहुँदा किसानलाई पशुका लागि दाना खरिद, घरखर्च सञ्चालन तथा व्यवस्थापनमा समस्या भएको छ ।

पीडित किसानले सहकारीमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी दिएका छन् । उजुरीमा वर्तमान अध्यक्ष हिमालयप्रसाद दाहाल, पूर्वअध्यक्ष गेहनाथ पोखरेल, पुष्प ढकाल र शान्तिराम भट्टराईलगायत जिम्मेवार पदाधिकारीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।

सहकारीका अध्यक्ष हिमालयप्रसाद दाहालले किसानको दूध बिक्रीबापतको रकम तिर्न बाँकी रहेको स्वीकार गर्दै संस्थाको आर्थिक अवस्था अघिल्लो व्यवस्थापनदेखि नै कमजोर बन्दै गएकाले समस्या उत्पन्न भएको बताए । ‘हामी फरार भएका छैनौँ । सहकारीको जग्गाजमिन तथा अन्य सम्पत्ति बिक्री गरेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्छौं,’ उनले भने ।

दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाईंका अनुसार उक्त सहकारीले पछिल्ला दुई वर्षदेखि संस्था नवीकरण गरेको छैन । साथै, साधारण सभा तथा संस्थाको वित्तीय अवस्थाबारे पनि नगरपालिकालाई नियमित जानकारी नआएको र संस्थाको अवस्थाबारे अध्ययन भइरहेको उनले बताए ।