
धनुषा । धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय प्रतिबद्धता व्यक्त गरिएको छ ।
सुनसरी जिल्लामा भएको घटना पश्चात धनुषा जिल्लामा समेत उक्त प्रकारका संवेदनशील घटना भएकाले आज जिल्लामा बसेको सर्वपक्षीय सद्भाव बैठकमा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो ।
विरोध प्रदर्शनका नाममा तोडफोड, आगजनी तथा व्यक्तिगत र सरकारी सम्पत्तिमा क्षति पुर्याउने गतिविधिमा संलग्न व्यक्तिमाथि कानुन बमोजिम कारबाही गरिने निर्णय भएको छ ।
फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमार्फत एक अर्काप्रति घृणा र धार्मिक विद्वेष फैलाउने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नियन्त्रण गरिने बैठकले निर्णय गरेको छ ।
प्रजिअ प्रेमप्रसाद लुइँटेलले विभिन्न धर्म, जातजाति, भाषाभाषी तथा समुदायबीच आपसी सद्भाव, भाइचाराको सम्बन्ध कायम गर्न समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, विभिन्न संघसंस्था तथा स्थानीय तहका जनप्रतिनिधिले आ-आफ्नो तर्फबाट पहल गर्ने निर्णय भएको जानकारी दिए ।
आपराधिक गतिविधिमा लागेकालाई मुलुकी अपराध संहिता, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने निर्णयमा उल्लेख छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरी तथा हिन्दु र मुस्लिम समुदायका प्रतिनिधि, राजनीति दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal