लमजुङ । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटवेशीमा बुबा र छोरीको मृत्यु भएको छ ।
मंगलबार बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल-७ भाटवेशीएकाघरका ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक धुर्वप्रसाद शर्माले जानकारी दिए ।
घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरो खसी धन्सारसहितको दुईतले कच्ची घरमा क्षति पुर्याएको उनको भनाइ छ । घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएको थियो ।