
काठमाडौं । नेपाल र गणतन्त्र कोरियाबीच कृषि विकास तथा कानुनी सूचना प्रणाली सुदृढीकरणका लागि ११.८ मिलियन अमेरिकी डलर बराबरका दुई समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा सञ्चालन हुने परियोजनासम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले शुक्रबार हस्ताक्षर गरेका हुन्।
पहिलो परियोजनाअन्तर्गत १० मिलियन अमेरिकी डलर अनुदानमा ‘नेपालमा फलफूल तथा तरकारीका लागि मूल्य शृङ्खला विकास परियोजना–दोस्रो चरण’ सञ्चालन हुनेछ। यो परियोजना लुम्बिनी प्रदेशका बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, पाल्पा र गुल्मी जिल्लामा सन् २०२५ देखि २०३१ सम्म कार्यान्वयन गरिनेछ।
परियोजनाले बजारमुखी कृषि उत्पादन, बालीपछिको प्रविधि विस्तार तथा सहयोग प्रणाली सुदृढ गर्दै साना तथा मझौला किसानको आय वृद्धि गर्ने लक्ष्य लिएको छ। यसको कार्यान्वयन कोइकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रदेश सरकार र कृषि विकास निर्देशनालयसँगको सहकार्यमा गर्नेछ।
यस्तै, दोस्रो परियोजनाअन्तर्गत १.८ मिलियन अमेरिकी डलर अनुदानमा ‘नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापना परियोजना’ सञ्चालन गरिनेछ। यसमार्फत नेपालको कानुनी अभिलेखलाई एकीकृत र प्रयोगकर्ता–मैत्री डिजिटल प्रणालीमा रूपान्तरण गरी नागरिकको कानुनी जानकारीमा पहुँच सहज बनाइने लक्ष्य राखिएको छ।
यो परियोजना कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गणतन्त्र कोरियाको सरकारी कानुन मन्त्रालय तथा कोरिया कानुन सूचना सेवाको सहकार्यमा कार्यान्वयन हुनेछ। परियोजनाले डिजिटल पूर्वाधार निर्माण, कानुनी डाटाबेस विकास, कार्यप्रणाली सुधार र नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ।
समारोहमा अर्थसचिव घनश्याम उपाध्यायले नेपालको विकास यात्रामा कोरियाको सहयोग निरन्तर प्रभावकारी र महत्त्वपूर्ण रहेको बताए। राजदूत पार्क थेयङले यी परियोजनामार्फत कोरियाको प्राविधिक अनुभव नेपालमा हस्तान्तरण हुने विश्वास व्यक्त गरे।
कोइकाका कन्ट्री डाइरेक्टरले लुम्बिनी प्रदेशमा सञ्चालन हुने कृषि परियोजनाले किसानको दिगो आम्दानी वृद्धि र कृषि क्षेत्रको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
सन् १९९१ देखि कोइकामार्फत कोरिया सरकारले स्वास्थ्य, शिक्षा, कृषि, व्यावसायिक तालिम, ग्रामीण विकास र डिजिटल रूपान्तरणलगायत क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको छ। हालसम्म कोरियाले नेपाललाई करिब २३५ मिलियन अमेरिकी डलर बराबरको विकास सहायता उपलब्ध गराइसकेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal