
काठमाडौं । सरकारले नेपालमा इन-भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन आवश्यक कानुनी तथा नीतिगत तयारी अघि बढाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा शुक्रबार मन्त्री निशा मेहताको उपस्थितिमा भएको छलफलमा देशभर सञ्चालनमा रहेका आईभीएफ सेवाको अवस्था, पूर्वाधार, सेवा मापदण्ड र नियमन प्रणालीबारे विस्तृत समीक्षा गरिएको हो।
छलफलमा आईभीएफ सेवाको प्रभावकारी नियमनका लागि सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने तथा दीर्घकालीन रूपमा यसलाई स्पष्ट कानुनी आधार दिन छुट्टै ऐन निर्माण गर्ने विषयमा सहमति जुटाउने प्रयास गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री मेहताले प्रजनन स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सेवाग्राहीको सुरक्षा, उपचारको गुणस्तर र नैतिक अभ्यास सुनिश्चित गर्न स्पष्ट कानुनी व्यवस्था अपरिहार्य रहेको बताइन्। उनले सम्भावित अनियमितता नियन्त्रण गर्दै सुरक्षित, पारदर्शी र जिम्मेवार आईभीएफ सेवाको पहुँच विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।
बैठकमा आईभीएफ सेवा सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड, अनुमति प्रक्रिया तथा अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।
छलफलमा डा. श्रीप्रसाद अधिकारी, डा. ज्योति थापा र डा. बिनिता थापालगायत प्रजनन स्वास्थ्य क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal