
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।
बडीमालिकामा दूरसञ्चार सेवा अभाव रहेको विषयलाई गम्भीर रूपमा लिँदै मन्त्री तिमिल्सिनाले टेलिफोन टावर निर्माणका लागि आवश्यक उपकरण हेलिकप्टरमार्फत ढुवानी गरी छिटो सेवा सञ्चालन गर्न निर्देशन दिएका हुन्। सडकमार्फत सामग्री पुर्याउन कठिन भएकाले हवाई माध्यम प्रयोग गर्न उनले जोड दिएका छन्।
मन्त्रालयमा भएको छलफलका क्रममा नेपाल टेलिकमले साउन महिनाभित्र बडीमालिकामा टेलिफोन सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। टेलिकमका अनुसार टावर निर्माणका लागि आवश्यक सामग्री धनगढीसम्म पुर्याइसकिएको छ भने नेपाली सेनाको हेलिकप्टर उपलब्ध भए लगत्तै निर्माण कार्य अघि बढाइनेछ।
दूरसञ्चार पूर्वाधार विस्तारका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्री तिमिल्सिनाले प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि बडीमालिकासहित दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवा विस्तारबारे छलफल गरेका छन्। सो अवसरमा अनलाइन सट्टेबाजी (बेटिङ) एप नियन्त्रण तथा अनलाइन ठगी रोकथामका विषयमा पनि छलफल भएको थियो।
त्यसैगरी मन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग आवश्यक पूर्वाधार, सडक पहुँच र सेवा विस्तारका सम्भावनाबारे समेत छलफल गरेका छन्।
सरकारले दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्ने नीति अनुरूप नेपाल टेलिकमले बडीमालिका मन्दिर क्षेत्र (समुद्री सतहबाट करिब ४,२०० मिटर उचाइ) मा तत्काल फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ। साथै सगरमाथा आधार शिविर क्षेत्रमा पनि फोरजी सेवा विस्तारका लागि अध्ययन भइरहेको छ।
यसअघि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान र ठूलीभेरी नगरपालिका–१ दुनै क्षेत्रमा करिब ३,९०० मिटर उचाइमा तथा ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा करिब ३,४०० मिटर उचाइमा फोरजी सेवा सञ्चालनमा आइसकेको टेलिकमले जनाएको छ।
मन्त्रालयका अनुसार देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधारका लागि करिब १,६०० नयाँ टेलिफोन टावर निर्माण प्रक्रिया अघि बढिसकेको छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने योजना बनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal