मोरङ । विराटनगर विमानस्थलबाट काठमाडौं जाने तयारीमा रहेका नेपाल सरकारका एक उपसचिव स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ रहेका छन् ।
प्रहरीका अनुसार तामाङ साउन ३ गते बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका बेला सुरक्षा जाँचका क्रममा उनको साथबाट ६ लाख ६५ हजार रुपैयाँ नगद बरामद भएको थियो। यस घटनाबारे प्रहरीले शुक्रबार सार्वजनिक जानकारी दिएको हो ।
दोलखाको भीमेश्वर नगरपालिका-९ स्थायी घर भएका तामाङको झोलाबाट एक हजार दरका ५१५ वटा र पाँच सय दरका ३०० वटा नोट फेला परेका थिए। प्रारम्भिक सोधपुछका क्रममा उनले उक्त रकमको वैधानिक स्रोत पुष्टि गर्न नसकेपछि विमानस्थल सुरक्षामा खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले बरामद भएको रकमको स्रोत र उद्देश्यबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले अनुसन्धान पूरा भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।