
काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले आफ्ना सदस्य व्यवसायीहरूबीच समसामयिक व्यवसायिक विषयमा छलफल तथा सुझाव संकलन गर्ने उद्देश्यले सदस्य भेला आयोजना गर्ने भएको छ ।
संघले जारी गरेको सूचनाअनुसार आगामी साउन ९ गते शनिबार बिहान ८ बजे हिमालयन स्ट्रीट एन्ड इभेन्ट्स (पुरानो नेपाल हाउस रेस्टुरेन्ट), हात्तीसार, काठमाडौंमा पहिलो क्षेत्रगत सदस्य भेला आयोजना गरिनेछ ।
भेलामा सुनचाँदी व्यवसायमा देखिएका समस्या तथा समाधानका उपाय, महासंघको १३औँ र १५औँ वार्षिक साधारणसभामा सुनचाँदी व्यवसायसँग सम्बन्धित राख्नुपर्ने सुझावलगायत विविध विषयमा छलफल गरिने जनाइएको छ। संघले सदस्यहरूलाई लिखित रूपमा आफ्ना सुझाव तथा सल्लाह साउन ७ गतेभित्र पठाउन आग्रह गरेको छ ।
पहिलो चरणको भेलामा बसन्तपुर, विशालबजार, न्यूरोड, इन्द्रचोक, गुच्चाटोल, बिचापोखरी, फसिँकेव, प्युखा र वटु क्षेत्रका सदस्य व्यवसायी सहभागी हुनेछन्। सहभागीका लागि बिहानको खाजा तथा खानाको व्यवस्था पनि गरिएको संघले जनाएको छ ।
संघका अनुसार भेलामा मौज्दात (स्टक) व्यवस्थापन, पुरानो गरगहना खरिद गर्दा ग्राहकको नागरिकता लिनुपर्ने व्यवस्था, खाता भुक्तानीमार्फत रकम भुक्तानी, १० लाख रुपैयाँभन्दा बढीको कारोबारको प्रतिवेदन, सम्बन्धित सरकारी निकायमा दर्ता प्रमाणपत्र अद्यावधिक, लेखापरीक्षण, कर तथा आवश्यक कागजात व्यवस्थापनलगायत विषयमा चार्टर्ड एकाउन्टेन्ट महेश पोखरेलले जानकारी गराउने कार्यक्रम रहेको छ ।
संघले सम्पूर्ण सदस्य व्यवसायीलाई अनिवार्य रूपमा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal