• Menu

सातै प्रदेशमा ‘हस्तकलाग्राम’ निर्माण गरी रोजगारी सिर्जना गरिने, महासंघसँग सहकार्य गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाल प्रफिट

२०८३ साउन ६, बुधबार १५:०२

सातै प्रदेशमा ‘हस्तकलाग्राम’ निर्माण गरी रोजगारी सिर्जना गरिने, महासंघसँग सहकार्य गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षेत्रको प्रवर्धन, विस्तार र बजारीकरणमा सरकारले विशेष प्राथमिकता दिने बताएका छन् ।

बुधबार सिंहदरबारमा नेपाल हस्तकला महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले हस्तकला नेपालको पहिचानसँग जोडिएको क्षेत्र भएकाले यसको संरक्षण, प्रवर्धनर विस्तारका लागि आवश्यक सहकार्य र सहयोग गरिने बताएका हुन् ।

उनले सातै प्रदेशमा हस्तकलाग्राम स्थापना गरी रोजगारी सिर्जना गर्न महासंघ र सम्बन्धित निकायसँग सहकार्य गरिने उल्लेख गरे । हस्तकलामार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै निर्यात बढाएर राजस्व वृद्धि गर्ने सरकारको लक्ष्य रहेको पनि उनले बताए ।

नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यका अनुसार छलफलमा विगत १५ वर्षदेखि मनाइँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय रूपमा मान्यता दिने विषयमा पनि सकारात्मक छलफल भएको छ। यस सम्बन्धमा आवश्यक निर्णय सम्बन्धित निकायमार्फत अघि बढाइने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।

त्यसैगरी हस्तकला क्षेत्रका समस्या, चुनौती र सम्भावनाको समग्र अध्ययन तथा समाधानका लागि हस्तकला विकास बोर्ड गठन गर्ने विषयमा पनि प्रधानमन्त्री सकारात्मक रहेको अध्यक्ष शाक्यले जानकारी दिए ।

छलफलमा लामो समयदेखि रोकिएको सार्क हस्तकला विकास केन्द्रलाई सम्बन्धित निकायसँग समन्वय गरी पुनः सञ्चालनमा ल्याउने विषयमा समेत छलफल भएको थियो ।

भेटघाटमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वालगायत पदाधिकारी तथा हस्तकला निर्यात व्यवसायीहरूको सहभागिता रहेको थियो ।