• Menu

बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा

नेपाल प्रफिट

२०८३ साउन ६, बुधबार १४:५५

बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

राजीनामा दिने मन्त्रीहरूमा कृषि, पशुपन्छी तथा वन-वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत यातायात हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन् ।

यसअघि एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई पत्र पठाउँदै नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए।

पत्रमा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै पार्टीको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता गरिएको उल्लेख गरिएको छ।

एमालेले समर्थन फिर्ता लिएर सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएपछि बागमती प्रदेश सरकार अल्पमतमा पर्ने अवस्था सिर्जना भएको छ। अब सरकारले संविधानअनुसार प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने अवस्था बनेको छ ।