तनहुँ । घिरिङ गाउँपालिका-४ बाह्रबिसेमा व्यावसायिक अंगुरखेती गरिएको छ । घिरिङ भाइन यार्ड एन्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अंगुरखेती गरेको हो ।
पहिलो वर्ष नौ हजार किलो अंगुर उत्पादन भएको जनाइएको छ । यो वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले बताए ।
उनका अनुसार स्विट्जरल्यान्डबाट प्रतिबिरुवा सात सयदेखि एक हजार रुपैयाँसम्ममा खरिद गरी ल्याइएको थियो । ‘पहिलो वर्षमै राम्रो उत्पादन भयो, यो वर्ष उत्पादन बढ्ने विश्वास छ,’ उनले भने ।
अंगुरखेतीका लागि एक करोड ५० लाख लगानी भएको छ । यहाँ उत्पादित अंगुर धादिङ पठाउने गरिएको छ ।
धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अंगुरखेती गरी वाइन उत्पादन हुँदै आएको कार्कीले बताए । कम्पनीले धादिङमा ३८ करोड ५० लाखको लागतमा अंगुरखेतीसँगै ‘वाइन’ उत्पादन गर्दै आएको हो ।
‘कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ,’ उनले भने । फार्ममा ३२ प्रजातिका अंगुरखेती गरिए पनि आठदेखि १० प्रजातिका अंगुरबाट मात्र मनग्य उत्पादन भएको उनले बताए ।