म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोस्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोस्ट मल बनाउन थालिएको हो ।
बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोस्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न थालेका हुन् ।
बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट रेशा निकालेर फाइबर धागो बनाउने र कम्पोस्ट मल बनाउने सीप सिकेका छन् ।
सोही वडाको भकुण्डेमा बेनी नगरपालिकाको ‘उपप्रमुखसँग आमा समूह कार्यक्रम’ मार्फत केराको थामबाट रेशा निकालेर धागो र सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ ।
केरा पकेट क्षेत्रको रुपमा विकास भएको खबरा क्षेत्रमा उत्पादन भएका केरा बिक्री भएपछि खेर जाने थामबाट समेत आयआर्जन हुने भएपछि स्थानीय उत्साहित बनेको केरा पकेट क्षेत्र विकास कार्यक्रमका संयोजक सोवित शर्माले बताइन् ।
उनका अनुसार तालिममा केराको थामबाट रेशा निकालेर फाइबर, धागो तयार गर्न र रेशा तयार गर्दा खेर जाने केराको थामको धुलोलाई उपयोग गरेर कम्पोस्ट मल तयार गर्ने विधि, तरिका सिकाइएको छ ।
केराको रेशाबाट पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड तयार गर्न सकिने भएकाले केराको थामलाई प्रशोधन गरेर व्यावसायिक रुपमा नै उद्योग सञ्चालन गर्ने योजना बनाएको स्थानीय सीमा थापाले बताइन् ।
‘हामीले यसअघि केराका कोसा मात्रै बिक्री गर्थ्यौं, थाम त्यसै कुहिएर खेर जान्थ्यो, अब थामबाट धागो उत्पादन गरेर आयआर्जन गर्न सक्ने भएका छौँ,’ उनले भनिन् ।
तालिममा राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य सन्दीप सापकोटा, गीता पौडेल, ज्योति मल्लले प्रयोगात्मक अभ्याससमेतको सहजीकरण गरेका थिए । तीन वर्षको अनुसन्धानपछि केराको थामको रेशाबाट फाइबर, धागो, सेनेटरी प्याडलगायतका सामान उत्पादन गर्न सम्भव देखिएपछि अभियानको रुपमा अघि बढाइएको प्रशिक्षक सापकोटाले बताए ।
केराको थामबाट बनेका सामग्री प्राकृतिक रुपमा उपयोगी हुने भएकाले यसको व्यावसायिकताले महिलाको आयआर्जनमा टेवा पुग्ने उनको भनाइ छ । बेनी नगरपालिकाले केराका थामबाट फाइबर, धागो र सेनेटरी प्याड बनाउने तालिमसँगै उद्यमीलाई त्यसमा निरन्तर लाग्न अभिप्रेरित गर्दै उपकरण पनि प्रदान गरेको छ ।