• Menu

आजका मुख्य ११ प्रफिट न्युज : अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनको गृहकार्य, कच्चा तेल प्रतिब्यारेल ९१ डलर नाघ्यो

नेपाल प्रफिट

२०८३ साउन ४, २०:०२


सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा बसेको सबै सचिवहरूको बैठकले सोमबार २२ निर्णय गरेको छ। बैठकले शासकीय सुधार अभियानलाई निरन्तरता दिने, सचिवहरूले स्वयं प्रगति ट्र्याकिङ गर्ने र कार्यदलका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको हो। जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि स्वीकृत राहत प्याकेज कार्यान्वयन गर्ने तथा सार्वजनिक सेवामा हुने अनियमितता र भ्रष्टाचारमाथि कडा निगरानी राख्ने निर्णय पनि गरिएको छ। मालपोत, नापी, यातायात, श्रम, जिल्ला प्रशासन र प्रहरी कार्यालयमा एकद्वार सेवा प्रणाली लागू गरिने तथा उजुरी लेख्न नसक्ने सेवाग्राहीका लागि छुट्टै कर्मचारी खटाइने भएको छ। साथै शनिबार-आइतबार दुई दिन सार्वजनिक बिदा लागू भएपछि अन्य बिदाको पुनरावलोकन गर्न १५ दिनभित्र प्रतिवेदन दिने कार्यदल गठन गरिएको छ।

***

उच्च अदालत पाटनले आर्थिक वर्ष २०८२/८३ मा कुल १६ हजार १३९ मुद्दामध्ये ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको जनाएको छ। अदालतले दुई वर्ष र १८ महिना नाघेका मुद्दा शून्यमा झार्न सफल भएको छ भने एक वर्ष नाघेका ३५३ मुद्दा बाँकी छन्। मुख्य न्यायाधीश लालबहादुर कुँवरका अनुसार विकास निर्माण र राजस्व असुलीसम्बन्धी मुद्दालाई विशेष प्राथमिकता दिइएको छ। मातहतका जिल्लामध्ये सिन्धुपाल्चोकको फछ्र्योट दर सबैभन्दा उच्च र काठमाडौं जिल्ला अदालतको सबैभन्दा कम रहेको छ।

***

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनबारे छलफल सुरु गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित बैठकमा योजना आयोगका उपाध्यक्ष डा.  गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा पूर्वाधार, उद्योग, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, श्रम, गृह र रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरू सहभागी छन् । बैठकमा बजेट प्रभावकारी कार्यान्वयनका उपायबारे छलफल भइरहेको छ।

***

इप्पानको संशोधित विधान जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रमाणीकरण भएसँगै कार्यान्वयनमा आएको छ। नयाँ व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाइएको छ।कार्यसमिति २५ बाट बढाएर ३७ सदस्यीय बनाइएको छ, जसमा महिला, एसोसिएट र युवा उद्यमीको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारले कार्यसमितिमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने तथा कुनै राजनीतिक दलमा आबद्ध नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

***

नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन भएपछि राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य तथा समन्वय बढ्ने भएको छ। नयाँ व्यवस्थाअनुसार योजना आयोगका उपाध्यक्ष पदेन अध्यक्ष रहनेछन् भने त्रिविका उपकुलपति बोर्ड सदस्य रहने व्यवस्था गरिएको छ। डा। गुणाकर भट्टको अध्यक्षतामा बोर्डको पहिलो बैठक सम्पन्न भइसकेको छ। प्रतिष्ठानले सरकारलाई रणनीतिक, कूटनीतिक तथा सार्वजनिक सेवा सुधारसम्बन्धी नीतिगत सुझाव दिने कार्य गर्दै आएको छ।

***

यातायात व्यवस्था विभागले डिजिटल प्रणालीलाई थप सुरक्षित र सेवाग्राहीमैत्री बनाउन डाटाबेस माइग्रेसन तथा नयाँ कर दर समायोजनको काम सुरु गरेको छ। नयाँ आर्थिक वर्षसँगै प्रदेश सरकारले तय गरेका कर दर प्रणालीमा अद्यावधिक गर्नुपर्ने भएकाले प्रक्रिया थालिएको विभागले जनाएको छ। सोमबार जारी सूचनाअनुसार काम सम्पन्न गर्न करिब एक हप्ता लाग्नेछ। विभागले अत्यावश्यक बाहेकका सेवाका लागि साउन ८ पछि मात्रै यातायात कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

***

पैँचो पसल प्रा.लि. पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई ‘पैँचो पसल लिमिटेड’का रूपमा औपचारिक सञ्चालनमा आएको छ। उद्योग मन्त्रालय र कम्पनी रजिस्ट्रारको कार्यालयबाट कानुनी स्वीकृति पाएपछि कम्पनीले नयाँ संरचनाअनुसार कारोबार सुरु गरेको जनाएको छ। २०७१ सालमा स्थापना भएको पैँचोले कृषक, स्थानीय उत्पादन र उपभोक्ताबीच बजार सेतु निर्माण गर्दै आएको छ। कम्पनीले अब पुँजी विस्तार, सुशासन सुदृढीकरण, प्रविधि लगानी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई प्राथमिकता दिने जनाएको छ।

***

सेयर बजार लगातार पाँचौं दिन बढेको छ। असार ३० देखि बढ्न थालेको बजारले आजसम्म निरन्तरता पाएको हो । शुक्रबार करिब ८० अंकले बजार बढेको थियो । आज सोमबार नेप्से ४१ दशमलव ७ शून्य अंकले बढेर सत्ताइस सय १९ दशमलव २ ४ अंकमा उक्लिएको छ । यससँगै पाँच दिनमा नेप्से १ सय ४९ अंकले बढिसकेको छ । आज कारोबार रकम पनि बढेको छ । शुक्रबार ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५० करोडको कारोबार भएको छ । सेयर कारोबारमा आएका २७६ कम्पनीमध्ये २३८ कम्पनीको मूल्य बढेको छ ।

***

नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ६ सय रुपैयाँ पुगेको छ। आइतबार सुन २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ३ सय २० रुपैयाँ पुगेको छ।

***

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तविरुद्ध प्राप्त उजुरी वितरणका लागि संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित राज्यव्यवस्था तथा सुशासन समितिको हलमा बस्ने भएको छ। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लाविरुद्ध उजुरी आह्वान गरिएकोमा एउटा उजुरी परेको समितिले जनाएको छ। उक्त उजुरी मंगलबारको बैठकमा खोलिनेछ। यी नामहरू असार १९ गतेको संवैधानिक परिषद् बैठकबाट सिफारिस भएका हुन्।

***
अमेरिका-इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च स्तरमा पुगेको छ। हर्मुज जलसन्धिमा अवरोध आउन सक्ने चिन्ताले ब्रेन्ट तेल प्रतिब्यारेल ९१ डलर नाघेको हो। उच्च तेल मूल्यले मुद्रास्फीति र ब्याजदर कटौती योजनामा असर पर्न सक्ने चिन्ता बढेको छ। यसबीच, चीनबाट थप आर्थिक प्रोत्साहनको अपेक्षाले हङकङ र साङ्घाईका शेयर बजार बढेका छन् भने केही अन्य एसियाली बजारमा मिश्रित कारोबार भएको छ।