
काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। सिमरामा भएको मौखिक सहमतिलाई लिखित सम्झौतामा रूपान्तरण गर्दै औपचारिकता दिन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अन्तिम चरणको निर्णायक वार्ता जारी छ।
यसअघि बुधबार पनि दुवै पक्षबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सघन छलफल भएको थियो। सोही छलफलबाट बनेको सहमतिलाई आधार बनाएर आज औपचारिक सम्झौताको तयारी गरिएको हो।
वार्ता टोलीमा को-को छन् ?
सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य छन्।
पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी सदस्य रहेका छन् ।
दुवै पक्षबीचको अन्तिम वार्ता सफल भए आजै सम्झौतापत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal