• Menu

कुरीतिविरुद्ध स्थानीय र प्रदेश तहसँग मिलेर सचेतना जगाउँछौँ : सुरक्षामन्त्री

नेपाल प्रफिट

२०८३ असार २६, शुक्रबार १७:४५

कुरीतिविरुद्ध स्थानीय र प्रदेश तहसँग मिलेर सचेतना जगाउँछौँ : सुरक्षामन्त्री

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिला तथा किशोरीलाई महिनावारी भएका बखत गरिने विभेद र हिंसा न्यूनीकरणका लागि छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४ कार्यान्वयनमा रहेको बताएकी छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयले मर्यादित महिनावारी प्रवर्धनसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशिकाको मस्यौदा तयार गरेको जानकारी दिइन् ।

मस्यौदामा मर्यादित महिनावारी प्रवर्धनसम्बन्धी कार्यक्रम कार्यान्वयनको मार्गदर्शन, समन्वय तथा कार्यान्वयन तथा अनुगमनलगायतका विषयहरू समावेश गरिएको मन्त्री वादीले उल्लेख गरिन् ।

मन्त्रालयले तयार गरेको मस्यौदाउपर प्रदेशस्तरमा छलफल सम्पन्न भएको र प्रदेशस्तरको छलफलबाट प्राप्त सुझावअनुसार उक्त दस्तावेजलाई अन्तिम रूप दिइने व्यहोरा उनले सदनलाई जानकारी गराइन् ।

‘मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा सामाजिक कुरीतिविरूद्धको सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट पाक्षिक रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ,’ उनले भनिन् ।

मन्त्रालयले यही आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको अवगत गराउँदै उनले आगामी दिनहरूमा समेत मन्त्रालयले प्रदेश र स्थानीय तहमा समेत  मर्यादित महिनावारी प्रवर्धन तथा सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताइन् ।